मेयर बालेनले यूरोडको सशुल्क पार्किङ हटाएर धरहरामा निशुल्क पार्किङको व्यवस्था गरे



काठमाडौं । न्यूरोडको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको काठमाडौं महानगरले धरहराको पार्किङस्थल निशुल्क उपलब्ध गराएको छ।
चालकहरूको सहजताका लागि महानगरले आईतवारदेखि धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको हो।
करिब एक हजार पाँच सय मोटरसाइकलहरू पार्किङ गर्नका लागि सो स्थान उपलब्ध गराएको काठमाडौं महानगरले जनाएको छ।
तत्कालका लागि खाली भएको ठाउँलाई सदुपयोग गर्न उनले सबैलाई आग्रह गर्दै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले साझा समस्याहरू सबै मिलेर समाधान गर्नुपर्ने र त्यसका लागि धरहरा निर्माण कम्पनीले पनि सहयोग गर्नुपर्ने बताए ।
न्यूरोड क्षेत्रमा पार्किङ निषेधको विरोधमा व्यवसायीहरू महानगर विरुद्ध आन्दोलित भएका थिए।
महानगरले काठमाडौंको अत्यन्तै व्यस्त स्थान धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा हिजोदेखि महानगरले पार्किङ निषेध गरेको छ ।