शान्तिपूर्ण आन्दोलन दमन नगर, युवाको माग सम्बोधन गर – टोकियोबाट नेपाली पत्रकारहरूद्वारा सरकारलाई अपिल

२४ भदौ २०८२, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
२४ भदौ २०८२, मङ्गलवार

टोकियो।  नेपालमा फैलिएको जेन–जेड पुस्ताको आन्दोलनले विश्वभरका नेपाली समुदायको ध्यान खिचिरहेको बेला जापानस्थित नेपाली पत्रकार महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

महासंघले सोमबार विज्ञप्ति जारी गर्दै सरकार र आन्दोलनरत युवापुस्तालाई सम्बोधन गर्दै भनिएको छ– “आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले अघि बढाऔं, सरकारले ढिलासुस्ती नगरी तत्काल समाधान खोजोस्।”

विज्ञप्तिमा भनिएको छ, “जनताको आवाज दबाउने होइन, सम्बोधन गर्ने हो। युवाले उठाएका माग लोकतान्त्रिक अभ्यासअन्तर्गत जायज छन्। तर सरकारको बेवास्ता र ढिलासुस्तीका कारण आन्दोलन चर्किएको छ। यस्तो संवेदनशील घडीमा जिम्मेवारीपूर्वक कदम चाल्नु सरकारको कर्तव्य हो।”

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति गहिरो दुःख प्रकट गर्दै महासंघले मृत आत्माहरूको चीरशान्तिको कामना गरेको छ। विज्ञप्तिमा भनिएको छ, “युवाको रगतले सडक रञ्जिनु देशको दुर्भाग्य हो। यसको समाधान सरकारको दायित्व हो।”

महासंघले आन्दोलनरत युवाहरूसँग संयमित रहन आह्वान गर्दै भनेको छ, “जायज मागलाई हिंसात्मक बाटोबाट होइन, शान्तिपूर्ण र सभ्य ढङ्गबाट अघि बढाऔं। असन्तुष्टिको समाधान संवाद र सहमतिको बाटोबाटै सम्भव छ।”

त्यसैगरी, महासंघले पत्रकार र सञ्चारकर्मीहरूलाई निष्पक्ष र संवेदनशील समाचार सम्प्रेषण गर्न विशेष अनुरोध गर्दै चेतावनी दिएको छ– “युवा पुस्ताको आक्रोशलाई गलत ढङ्गले चित्रण गर्ने प्रयासले परिस्थिति झन् बिगार्नेछ।”

.