‘माझकिरातकी छोरी खुट्टा कमाउँदिन’ भन्छिन् भण्डारी, ओली भन्छन् फर्कन मिल्दैन

७ साउन २०८२, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
७ साउन २०८२, बुधवार

काठकाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेसँगै पार्टी नेतृत्वले भने उनको राजनीतिक पुनरागमनलाई बन्द गर्ने निर्णय गरेको छ। 

च्यासलमा मंगलबार रातिसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको पुनरागमन ‘च्याप्टर क्लोज’ भएको स्पष्ट पारे।

भण्डारीले पत्रकारहरूसँग भनेकी थिइन्, “म राजनीतिमा अघि बढेँ, म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउँदिन।” 

पार्टीभित्रका नेताहरूले पनि आफूलाई अघि बढ्न हौसला दिएको स्मरण गराउँदै उनले एमालेको सदस्यता २०७२ देखि २०८० सम्म नवीकरण गरिसकेको दाबी गरिन्। तर ओलीले सदस्यता नवीकरण नै त्रुटिपूर्ण भएको तर्क गर्दै निर्णय बिना मान्य नहुने जिकिर गरे।

बैठकमा ओलीले पूर्वराष्ट्रपतिलाई गणतन्त्रको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने भन्दै दलको सक्रिय राजनीतिमा फर्किन नमिल्ने धारणा राखे। “उहाँ सेनाको परमाधिपति भइसकेको, गणतन्त्र गौरवले सम्मान गरेको व्यक्ति हुनुहुन्छ,” ओलीले भने, “यस्ता व्यक्तिले अब दलको प्रतिस्पर्धी भूमिकामा आउन मिल्दैन।”

भण्डारीले भने अध्यक्ष ओलीमाथि कटाक्ष गर्दै, “ओलीजी आफ्नै विचारबाट पछि हट्नुभयो,” भन्दै लोकतान्त्रिक मूल्यबाट विचलन भएको आरोप लगाइन्। 

उनले आफू उपाध्यक्ष भइसकेको कारण नेताहरूको आँखाको कसिंगर बनेको भन्दै नेतृत्वले नियतपूर्वक रोक्न खोजेको संकेत दिइन्।

बैठकमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले निर्णयको विरोध गरेका थिए। तर ओलीले कुनै फरक मत नसुनाउँदै निर्णय अघि बढाएका थिए।

पूर्वराष्ट्रपतिको राजनीतिमा पुनरागमन रोक्न गरिएको निर्णयले एमालेभित्रको शक्ति संघर्ष सतहमा ल्याएको छ।

भण्डारीले अगाडि बढ्ने संकेत दिएकी छन्, ओलीले रोक्ने तयारी पूरा गरिसकेका छन्। एमालेको भित्री राजनीति अहिले ‘खुट्टा कमाउने’ हिम्मत र ‘फर्कन नपाउने’ निर्णयबीचको द्वन्द्वमा छ।