भरत बहादुर केसी बागमती प्रदेशको वन तथा वातावरण मन्त्रीमा नियुक्त



दोलखा, नेकपा एमालेका दोलखा क्षेत्र ‘ख’ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य भरत बहादुर केसी बागमती प्रदेशको वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन्। आजै मुख्यमन्त्री इन्द्र बानियाँबाट केसीले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि गठित नयाँ मन्त्रिपरिषदमा कांग्रेस र एमालेबीचको दुई दलीय सहमतिअनुसार केसी मन्त्री बनेका हुन्। एमालेबाट कुल ६ जना मन्त्री नियुक्त भएका छन्, जसमा केसी पनि परेका छन्। उता, कांग्रेसबाट ८ जना मन्त्री छन्। हाल बागमती प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १४ मन्त्रालय रहेका छन्।
भरत केसीलाई मन्त्री बनाउने निर्णय एमाले बागमती प्रदेश कमिटी र संसदीय दलबीचको सहमतिअनुसार गरिएको हो। पूर्वाधार विकास वा वातावरणसँग सम्बन्धित मन्त्रालयमा चासो देखाएका केसीलाई अन्ततः वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो।
२०७४ सालमा दोलखाको भीमेश्वर नगरपालिकाबाट नगरप्रमुखमा निर्वाचित भएका केसीले नगर प्रमुखको कार्यकालमा थुप्रै जनप्रिय र विकासमुखी योजना सुरु गरेका थिए। त्यही अनुभवको आधारमा अब प्रदेशस्तरीय मन्त्रालयमा पनि उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा उनले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार बर्मा लामालाई १ हजार ८१९ मत अन्तरले पराजित गर्दै कुल १९ हजार ४१४ मतसहित विजयी भएका थिए।
यसअघि कांग्रेसबाट दोलखाका कुन्दनराज काफ्ले योजना तथा आर्थिक मामिला मन्त्रीको जिम्मेवारीमा थिए। तर, मुख्यमन्त्री लामासँगै उनले पनि पदबाट राजीनामा दिएकाले दोलखाबाट प्रतिनिधित्व गर्ने मन्त्री पदमा एमालेभित्र चर्को दबाब थियो। त्यसैअनुसार केसीको नियुक्तिलाई दोलखाली जनप्रतिनिधित्वको सन्तुलनका रूपमा पनि हेरिएको छ।
एमालेले यसपटक नयाँ अनुहार र प्रत्यक्ष निर्वाचित सांसदहरूलाई प्राथमिकता दिने नीतिअनुसार मन्त्री छानेको जनाएको छ। केसीसँगै केही नयाँ अनुहारहरूले पनि मन्त्री पद सम्हालेका छन्। अघिल्लो कार्यकालबाट दोहोरिने एक्ला मन्त्री भने स्वास्थ्य मन्त्री किरण थापा हुन्। भरत केसीको नियुक्तिसँगै नयाँ गठबन्धन सरकारले वन संरक्षण, वातावरणीय सुधार र दिगो विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ।