पत्रकार दिलबहादुर केसी सम्मानित



दाेलखा। दाेलखा चेम्बर अफ कमर्सले उत्कृष्ट आर्थिक पत्रकारको रूपमा काराेबारकर्मी दिलबहादुर केसीलाई सम्मान गरेको छ । दाेलखा चेम्बर अफ कमर्सकाे पाँचौ साधारणसभाकाे अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लबाट केसी सम्मानित भएका हुन् ।
केसी काराेबार दैनिककाे प्रकाशन सुरूवातदेखि आवद्ध भएर दाेलखा संवाददाताकाे रूपमा पत्रकारिता गर्दै आएका छन् । केसीसँग उत्कृष्ट व्यवसायीकाे रूपमा व्यवसायीहरू र स्थानीय संचार गृहलाई समेत प्रशंसा पत्र वितरण गरेको छ ।
साधारणसभाका अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले कर्जा लिंदा व्यवसायीहरूलाई आवश्यकभन्दा बढी नलिन समेत सुझाव दिए । आर्थिक मन्दीका कारण व्यवसायीहरूले बैंकबाट ऋण लिन सक्ने अवस्था नभएकोले बैंकमा तरला बढेको बताए । भारतसँगकाे खुला सिमानाका कारण भारतीय बजारमा भएकाे सस्तो सामान पाेकामा दिनभर सामान ल्याउने र रातभर ट्रकमा हालेर बजार लैजादा भन्सार र राजश्व छली भएको बताए । अर्को प्रशंगमा बैंकभन्दा सहकारी क्षेत्रमा ठूला पूँजी रहेकाले त्यसलाई सरकारले व्यवस्थित गर्नुपर्नेमा जाेड दिए । छुट्टै काेष बनाएर पनि सरकारले सहकारीकाे समाधान गर्न सक्ने र सहकारीलाई उत्पादनमा जाेड्नु पर्ने बताए ।
साधारणसभामा जिसस दाेलखाका प्रमुख बर्जुराम घतानेले बजार चलायमान बनाउन व्यवसायीहरू एकताबद्ध भएर काम गर्न सुझाव दिए । दाेलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठले बैंकहरूले अनावश्यक तनाव दिंदा व्यवसायीहरू मानसिक तनावमा परेकाले कर्जा तिर्न पुर्णतालिकीकरण गर्न सहज गरिदिन आग्रह गरे ।