६ वर्षे कार्यकालका लागि राष्ट्रिय सभा सदस्यमा दोलखाका घनश्याम रिजालको उम्मेदवारी

२४ पुष २०८०, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
२४ पुष २०८०, मङ्गलवार

चरिकोट। दोलखा, भीमेश्वर नगरपालिका वडा नम्बर – ६ चरिकोट, चितामथलीका घनश्याम रिजालले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले युवा नेता रिजाललाई उम्मेदवारीका लागि छनोट गरेसंगै उनले राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दिएका हुन् ।
सत्ता गठबन्धन साझेदारी दल नेकपा एसले पाएको कोटामा रिजाललाई पनि उम्मेदवार बनाउने निर्णय गरेपछि रिजाल ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य हुने निश्चित जस्तै भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दोलखा जिल्ला कमिटिका निवर्तमान उपाध्यक्ष समेत रहेका ४३ वर्षीय रिजाल नेकपा एसका केन्द्रिय प्रतिनिधि परिषद सदस्य हुन्।
उनि दलित मुक्ति संगठनका केन्द्रिय महासचिव र सुनचादी व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष हुन्। रिजाल यसअघि नेकपा एमालेबाट सक्रिय र प्रभावकारी राजनीतिमा थिए ।
२०४९ सालको स्थानिय चुनावदेखि नेकपा एमालेबाट राजिनीतिमा लागेका उनि २०७७ साल पुस ५ पछिको राजनीतिक घट्नाक्रमसंगै माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवदी पार्टी बनेपछि सो पार्टीमा प्रभावशाली नेताको हैसियतमा सक्रिय छन्। २०७९ सालको निर्बाचनमा समेत दोलखा प्रदेश ‘ख’ बाट बलियो उम्मेदवारको रुपमा दावी भएपनि सत्ता गठबन्धनको भागबन्डाका क्रममा दुईवटै उम्मेदवार कांग्रेसको भागमा परेपछि उनि पछि हटेका थिए।
दोलखा उद्योग वाणिज्य संघका निर्वाचित कार्यसमिति सदस्य समेत भइसकेका रिजाल दोलखाका सफल व्यवसायी हुन्।
विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहेका रिजाल, गौरीशंकर सामुदायिक पुस्तकालयका कार्यसमिति सदस्य, जिल्लाकै पहिलो कालिञ्चोक सामुदायिक एफएमको उपाध्यक्ष पनि भइसकेका छन्।
हाल उनि गौरीशंकर क्याम्पस चरिकोटका तेस्रो कार्यकालको लागि कार्यसमिति सदस्यमा छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० साल माघ ११ गते हुँदै छ । राष्ट्रिय सभा ५९ सदस्यीय हुन्छ । सात वटा प्रदेशबाट प्रत्येक प्रदेशबाट ८/८ जनाका दरले निर्वाचित हुन्छन् भने तीन जना राष्ट्रपतिबाट निर्वाचित हुन्छन्।
राष्ट्रिय सभालाई स्थायी सदनको रुपमा लिइने भएकाले दुई र दुई वर्षमा चुनाव गरेर नयाँ सदस्य निर्वाचित भइरहने व्यवस्था छ ।
नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि राष्ट्रिय सभाको चुनाव पहिलो पटक २०७४ सालमा भएको थियो । पहिलो पटक निर्वाचित भएकाहरुलाई गोलाप्रथाद्वारा दुई वर्ष, चार वर्ष र ६ वर्ष कार्यकाल तय गरिएको थियो । त्यसअनुसार दुई र चार वर्षे कार्यकाल पाएकाहरु विदा भएर नयाँ आइसके।
अब ६ वर्षे कार्यकालको गोला तानेकाहरु फागुन २० गतेबाट बिदा हुदै छन्। 
कार्यकाल सकिन लागेका २० जना सांसद ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेकाहरू हुन्।
विदा हुनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र स्वतन्त्र दुई जना छन् ।