टोपी दिवससंगै धोती दिवस मनाउनेहरु प्रहरीद्वार पक्राउ

१६ पुष २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
१६ पुष २०८०, सोमवार

काठमाडौं । पछिल्लो केही बर्ष यत अंग्रेज नयाँ वर्षलाई टोपी दिवसको रुपमा मान्दै आएको छ।
राष्ट्रिय पात्रो वा सरकारी स्तरमा कुनै सुचना तथा जानकारी नभएपनि ढाका टोपी, भादगाउँले टोपी लगाएका फोटो सामाजिक सञ्जालमा राख्दै टोपी दिवसको शुभकामना आदानप्रदान गरिरहेका पाइन्छन् ।
सदियौँदेखि नेपाली पहिचानको रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई गणत्रान्त्रिक सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएको थियो।
नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित केही समुहले नेपाली टोपी दिवस मनाउँदै आएको भएपनि देशका सबै जातजाति यस्मा सहमत छैनन् ।
टोपी दिवसलाई काउन्टर दिने गरि सोमबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा २ दर्जन बढि पक्राउ परेका छन्।
विद्यार्थी जनमत संघले जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा आयोजना गरेको धोती दिवसमा प्रहरीले हस्तक्षेप गरेको हो।  
‘राष्ट्रिय धोती दिवस’ को अवसरमा आयोजित र्‍याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई समेत पक्राउ गरेको छ ।
निषेधित क्षेत्र माइतीघरमा जान लागेपछि मन्त्रीसहित जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत दर्जन बढी पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
पार्टी उपाध्यक्ष तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलगायत करिब सय जनालाई पक्राउ गरिएको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए । उनले भने, ‘मन्त्रीज्यू, पार्टी अध्यक्ष र समितिका सभापतिसहित हामी करिब एक सय जनालाई प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा ल्याएर राखेको छ । हामी सबै सँगै छौं ।’
काठमाडौं प्रशासनले माइतीघर क्षेत्रमा अहिले कुनै पनि सभा सम्मेलन, प्रदर्शन गर्न रोक लगाएको छ ।