प्रधानमन्त्रीको निर्देशन लगत्तै विद्युत महशुल नतिर्ने ४ ठूला उद्योगको बिद्युत काटियो



काठमाडौं । प्रधानमन्त्री प्रचण्डले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै प्राधिकरणले ४ ठूला उद्योगको लाइन काटेको छ।
नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेवापतको अर्बौं विद्युत् महसुल नतिरेका ४ उद्योगको बिजुली (शुक्रवार) साँझदेखि काटेको हो।
प्राधिकरणका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीवार त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन प्राधिकरणलाई निर्देशन दिएका थिए।
प्राधिकरणका अनुसार जगदम्बाले नै ४ अर्ब १४ करोड रुपैयाँ महसुल तिर्न बाँकी छ। रिलायन्सले १ अर्ब ९४ करोड रुपैयाँ, घोराही सिमेन्टले १ अर्ब ३६ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ।
प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड रुपैयाँ बराबरको महसुल बुझाउन बाँकी छ। पटकपटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ।
महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटकपटक प्राधिकरणलाई निर्देशन दिइएको थियो।
संसद्का विभिन्न समितिले पनि यसअघि नै महसुलका विषयमा चासो राख्दै तत्काल असुलउपर गर्न निर्देशन दिएका थिए।
साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो।