सावित्री सुवेदी र प्रस्तोता बिक्की अग्रवाल विरुद्ध साइबर ब्यूरो जाँदै क्रिकेटर लामिछाने



काठमाडौं । सार्वजनिक टेलिभिजन कार्यक्रममार्फत आफ्नो बध गराउने भन्ने विरुद्ध क्रिकेटर सन्दीप लामिछाने कानूनी उपचार खोज्न साइबर ब्यूरो जाने भएका छन् ।
बिक्कि अग्रवाल प्रस्तोता र सावित्री सुवेदी गेस्ट रहेको उक्त टेलिभिजन कार्यक्रममा आफ्नो बध गराउनेदेखि मान गिराउने गतिविधि भएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट खेलाडी लामिछाने कानूनी उपचार खोज्न साइबर ब्यूरो जाने भएका हुन् ।
गत शनिबार नेपाल नेटवर्क टेलिभिजन तथा ओएसआर रियालिटी युट्युब च्यानलमा प्रसारण भएको ‘आम्मा कसम याँ दुख्छ’ कार्यक्रममा अतिथिका रूपमा आएकी सावित्री सुवेदी उर्फ ‘जयनारी’ले लामिछानेलाई बध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
कार्यक्रम प्रस्तोता बिक्की अग्रवालले लामिछानेको फोटो देखाएपछि सावित्रीले उनीमाथि गम्भीर टिप्पणी गर्दै वध गर्नुपर्नेसम्मको अभिव्यक्ति दिएकी थिइन् ।
बलात्कार आरोपको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित पार्ने, व्यक्तिको मानमर्यादा गिराउने र वध गर्नुपर्ने भन्ने जस्तो गम्भीर अभिव्यक्ति टेलिभिजन कार्यक्रममा सामान्य तरिकाले टिप्पणी गरिएकाले कानूनी उपचार खोज्ने तयारी भइरहेको लामिछानेका कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।
"कार्यक्रममा आएको उक्त अभिव्यक्ति एउटा विषयमात्र नभएर धेरै कानूनविपरीत छ।" उनले भने "वाक स्वतन्त्रता विरुद्ध गएर सार्वजानिक रुपमा कसैको हत्या गर्नुपर्ने अभिव्यक्ति छ ।"
विचाराधीन मुद्दाबारे सार्वजानिक रूपमा बोल्न अदालतले रोकेको बताउँदै उनले भने "कार्यक्रम निर्माता, प्रसारण भएको संस्था, प्रस्तोता तथा बोल्ने विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेकाे।"
राष्ट्रका लागि खेलिरहेको खेलाडी र परिवारको मानसिक पीडाका कुराहरू देखि मुद्दा नै प्रभावित बनाउने अभिव्यक्ति आएकोले कानुनी उपचनरमा जाने तयारी गरेको अधिवक्ता घिमिरेले बताए।