त्रिशूलीमा बस खस्दा एक महिला सहित पाँच जनाको मृत्यु

२३ फागुन २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
२३ फागुन २०८०, बुधवार

काठमाडौं । सिद्धार्थ यातायात प्रा.लि.काे बस तीव्र गतिका कारण अनियन्त्रित भई त्रिशूलीमा खसेको छ।
बुधबार बिहान पौने ५ बजेको समयमा धादिङको गजुरीको घाटबेशीस्थित त्रिशुली खोलामा कपिलबस्तुबाट काठमाडाैँ तर्फ आउँदै गरेकाे लु २ ख २१२१ नम्बरकाे बस दुर्घटना भएकाे थियाे।
दुर्घटनामा परेर एक महिलासहित पाँच जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेको बसबाट ३७ जनाकाे जिवितै उद्दार गरिएकाे छ। उनीहरुकाे धादिङ अस्पतालमा उपचार भइरहेकाे छ।
बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका– ९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नेपाली सेना तथा स्थानीयले उद्धार गरिरहेका छन्। सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा पुगेका छन्।