राजदूत सुवेदी: तीन वर्ष जापानमा, एक दिन पनि बिदा नलिई जनसेवामा समर्पित

३१ असोज २०८२, शुक्रवार राम्रो पोष्ट
राम्रो पोष्ट
३१ असोज २०८२, शुक्रवार

टोकियो। जापानका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदी इमानदार, कर्मनिष्ठ र जनमुखी कूटनीतिज्ञका रूपमा परिचित छन्। तीन वर्षअघि जापानमा जिम्मेवारी सम्हालेका सुवेदीले आफ्नो सम्पूर्ण कार्यकालभर एक दिन पनि बिदा नलिएको तथ्य आफैंमा दुर्लभ उदाहरण बनेको छ।

सामान्यतया शनिबार–आइतबार सार्वजनिक बिदा हुने भए पनि राजदूत सुवेदी ती दिनहरूमा समेत विभिन्न स्थानमा पुगेर नेपाली समुदायका कार्यक्रमहरूमा सहभागी हुन्थे र विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई हौसला दिने गर्थे। हुन त त्यो समय उनले आफ्नो व्यक्तिगत काम गर्न पनि सक्थे, तर ती दिनमा समेत उनले नेपाली समुदायमाझ उपस्थित भएर अभिभावकको भूमिका निर्वाह गरे।

दूतावासका नियमित कामसँगै नेपालीहरूलाई राहदानी, नागरिकता, प्रमाणपत्रलगायतका कागजी काममा आवश्यक सेवा, सहयोग र परामर्श उपलब्ध गराउन उनले कहिल्यै पछि परेनन्।

उनले “घुम्ती सेवा” कार्यक्रममार्फत टोकियोदेखि टाढा रहेका होकाइदोदेखि ओकिनावासम्मका नेपालीहरूलाई प्रत्यक्ष सेवा पुर्‍याएका थिए, जसले दूतावासलाई जनमैत्री संस्था बनाएको छ।

सुवेदीले नेपाली संस्कृति र पहिचान जापानी समाजमा चिनाउने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरे। नेपाल–जापान सम्बन्धलाई अझ घनिष्ठ बनाउन उनले सरकारी तथा गैरसरकारी स्तरमा उल्लेखनीय पहल गरेका छन्।

उनले लामो समयदेखि अलपत्र रहेको नेपाल मण्डप निर्माण कार्यलाई समेत अघि बढाई निर्माण सम्पन्न गर्ने वातावरण तयार पारेका छन्, जसका कारण ओसाका एक्स्पोमा ढिलो भए पनि नेपाली पहिचानलाई दरिलो रूपमा प्रस्तुत गर्न सफल भएका छन्।

त्यसैगरी, जापानमा निर्माण हुँदै गरेको बहुसांस्कृतिक "नेपाली घर" निर्माणका लागि पनि उनले आवश्यक सल्लाह, सुझाव र प्रेरणा प्रदान गरेका छन्। एनआरएन जापानका निवर्तमान अध्यक्ष नवीन निउरे भन्छन्, “जापान आएदेखि यति सिष्ट र सहज राजदूत मैले पहिलोपटक देखेको हुँ।”

तर कार्यकाल पूरा हुन केही महिना बाँकी रहँदै उनलाई फिर्ता बोलाउने निर्णयले जापानवासी नेपालीहरूमा गहिरो असन्तोष सिर्जना भएको छ। नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरी भन्छन्, “सक्षम र इमानदार व्यक्तिलाई पूरा कार्यकाल काम गर्ने अवसर दिनुपर्छ, तर हालको निर्णयले जनभावनासँगै सरकारको निर्णयप्रति पनि प्रश्न उठाएको छ।”

सन २०१३–२०१४ मा बहराइनमा कार्यवाहक राजदूतको रूपमा दूतावास स्थापना गरेका डा. सुवेदी २०१६–२०२१ सम्म बेलायतका लागि राजदूत रहे। त्यसपछि करिब नौ महिना नेपाल सरकारको ‘Chief of Protocol’ का रूपमा कार्य गरे। २०२२ अगस्टदेखि जापानका लागि राजदूत रहेका उनलाई चार वर्षको कार्यकाल पूरा गर्न नौ महिना बाँकी रहँदै फिर्ता बोलाइएको हो।

५६ वर्षीय सुवेदीले १९९४ मा बेलायतको लिड्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमए गरेका हुन्। उनले १९९० मा त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा एमपीए र २००८ मा राजनीतिशास्त्रमा पीएचडी गरेका छन्।

नेपाल–बेलायत सम्बन्ध सुदृढ पार्न योगदान पुर्‍याएको भन्दै उनलाई २०२१ मा राष्ट्रपतिद्वारा “सुप्रबल जनसेवाश्री” पदकले सम्मानित गरिएको थियो। प्रख्यात साहित्यकारका रूपमा पनि परिचित उनी नेपाली र अंग्रेजी भाषामा ५० भन्दा बढी पुस्तकका लेखक हुन्।

डा. सुवेदीको कार्यनिष्ठा, समर्पण र जनसेवाप्रतिको अटूट प्रतिबद्धताले जापानवासी नेपालीहरूमा असाधारण सम्मान र विश्वास जगाएको छ।

.