चीनमा फेरि एक जापानी महिलामाथि आक्रमण, बच्चासँगै मेट्रो स्टेसनमा हिँड्दै गर्दा कडा वस्तुले प्रहार



सुजोउ, चीन —चीनको पूर्वी सहर सुजोउस्थित मेट्रो स्टेसनमा एक जापानी महिला आक्रमणको सिकार भएकी छिन्। बिहीबार साँझ आफ्ना बालकसँग मेट्रोबाट ओर्लिएपछि उनीमाथि कडा वस्तुले प्रहार गरिएको थियो। महिलाको अवस्था खतरा मुक्त रहेको र अस्पतालमा उपचार भइरहेको जापानी महावाणिज्य दूतावास, शाङ्घाईले जानकारी दिएको छ।
घटनामा संलग्न आशंकामा चिनियाँ सुरक्षाकर्मीहरूले एक व्यक्तिलाई नियन्त्रणमा लिएको जनाइएको छ। यस्तै आक्रमण गत वर्ष जुन महिनामा पनि यही सहरमा भएको थियो, जहाँ एक जापानी आमाछोरी घाइते भएका थिए भने एक चिनियाँ महिला मारिएकी थिइन्।
जापानी सरकार र दूतावासले चीनसँग आफ्ना नागरिकको सुरक्षामा कडाइ अपनाउन आग्रह गरेका छन्। विशेषगरी बच्चासहित बाहिर निस्कँदा सतर्कता अपनाउन दूतावासले जापानी नागरिकलाई अनुरोध गरेको छ।
एक जापानी आमाले भनिन्, “हामी सबै अभिभावकहरू स्तब्ध छौं। अब बच्चासँग निस्कन पनि डर लाग्न थालेको छ।”
चीनले यो वर्ष सन् १९३७–१९४५ को जापानविरुद्धको युद्ध विजयको ८०औं वार्षिकोत्सव मनाइरहेको छ। यही सन्दर्भमा जापानले चीनमा जापानविरोधी भावना चर्किन सक्ने भन्दै आफ्ना नागरिकलाई सचेत रहन अनुरोध गरेको हो।
गत वर्ष सेप्टेम्बरमा शेन्जेन् सहरमा १० वर्षे जापानी बालकको चक्कु प्रहारबाट मृत्यु भएको घटना समेत यस्तै संवेदनशील समयमा परेको थियो।
चिनियाँ विदेश मन्त्रालयले विदेशी नागरिकको सुरक्षाका लागि कडा कदम चाल्ने बताएको छ।