पाउरोटी फालेर माछा फसाउने चराः Green Heron को अनौठो चाल



पक्षी संसारमा चालाकीका अनेक उदाहरण छन्, तर ‘हरियो बकुल्ला’ (Green Heron) को शैली भने एकदमै अनौठो र वैज्ञानिकहरूसमेत चकित पार्ने खालको छ।
यो सानो तर तेज दिमाग भएको बकुल्ला जातिको चराले सिकार गर्नका लागि अनौठो तरिका अपनाउने गर्छ—उपयोग गरेर माछा फसाउने, त्यो पनि पाउरोटी, पात, स–साना कीरा वा वस्तु फालेर।
अमेरिका, मेक्सिको र क्यानडालगायत देशका नदी, पोखरी र दलदली क्षेत्रका किनारमा बस्ने यस चराको विशेषता नै हो, शिकार गर्ने शैली।
हरियो बकुल्ला पानीको किनारमा शान्त बस्छ। चुच्चोमा समाएको कुनै सानो वस्तु वा पाउरोटीको टुक्रा पानीमा खसाल्छ।
त्यो टुक्रा सतहमा तैरिन्छ, र केही बेरमा माछा त्यो टुक्रा खान सतहमा आउँछ। यही मौका कुरेर बसेको बकुल्लाले एक झट्कामा माछा टिपेर खान्छ।
यस्ता घटना युट्युबमा देखिने थुप्रै भिडियोहरूमा देखिन्छन्, र वैज्ञानिकहरूले पनि यसको पुष्टि गरिसकेका छन्। यस प्रविधिलाई “Bait Fishing” भनिन्छ—जहाँ चरा आफैले माछालाई आकर्षित गर्ने सामाग्री प्रयोग गरेर सिकार गर्छ।
यस चराको मुख्य आहार साना माछा भए पनि भ्यागुता, झिँगा, स–साना सर्प, कीरा र क्रस्टेशियन पनि खान्छ। तर यसको अद्वितीय गुण भनेको अन्य पक्षीहरूजस्तो चिच्याएर वा अचानक हमला गरेर नभई, सोचेर, योजना बनाएर सिकार गर्नु हो। यसका लागि चराले शिकारको गतिविधि कुर्न सक्छ, पर्खन्छ, अनि मात्र आक्रमण गर्छ।
हरियो बकुल्ला मात्र चालाक शिकारी नभई, जिम्मेवार अभिभावक पनि हो।
यसले रुख वा झाडीमा पानी नजिक गुँड बनाउँछ र ३ देखि ५ वटा निलो–हरियो अण्डा कोर्छ। बुवा र आमा दुवैले पालो गर्दै अण्डा तताउने र बच्चालाई सिकार खुवाउने काम गर्छन्। करिब ३ हप्तामै बच्चा गुँड छोड्न सक्ने अवस्थामा पुग्छ।
उत्तर अमेरिका, क्यानडा, मेक्सिको तथा केही दक्षिण अमेरिकी क्षेत्रमा पाइने हरियो बकुल्ला चराको संख्या अत्यधिक छैन तर स्थिर छ। नेपाल वा जापानमा यो प्रजाति स्वाभाविक रूपमा पाइँदैन। तर यदी कोही पक्षीप्रेमीले युट्युब वा डक्युमेन्ट्रीमा यसलाई पानीमा पाउरोटी फालेर माछा फसाउँदै गरेको देखे भने अचम्म नमान्नुस यो वैज्ञानिक सत्य हो। सानो देखिने तर तेज बुद्धिको यो चरा प्राकृतिक बुद्धिमत्ताको एक अद्वितीय उदाहरण हो।