दर्शन गर्नाले आपत विपत र दुर्घटना हुनबाट जोगाउने, अकालमा मृत्यु नहुने

एक शिला पाँच अवतार भएको गाईखुरा महादेव : दर्शन गरे अकालमा मृत्यु नहुने जनविश्वास

२७ असार २०८०, बुधवार रविता महत
रविता महत
२७ असार २०८०, बुधवार

दोलखा । झट्ट हेर्दा धेरैलाई साधारण लाग्न सक्छ ।  सामान्य इट्टाको गारो, फलामको ट्रसमा जस्ता छाएको छ ।  घ्याङखोला तरेर मेलुङतर्फ करिब ३०० मिटर अगडी बढेपछि सडक गोलाई नजिकै अवस्थित गाईखुरा महादेव मन्दिर दोलखाको अर्को प्रसिद्ध मन्दिरको रुपमा परिचित छ । दोलखा मेलुङ्ग गाउँपालिका वडा नम्बर –२ सुकाठोकर स्थित यो मन्दिर हेर्दा जति साधारण लाग्छ यहाँको दर्शन गर्दा भने असाधारण फलिफाप हुने विश्वास गरिन्छ । यहाँ दर्शन गर्नाले आपत विपत र  दुर्घटना हुनबाट जोगाउने, अकालमा मृत्यु नहुने, चिताएको कुरा पूरा हुने, विद्या खुल्ने जस्ता धार्मिक विश्वास रहिआएको छ।स्वयं उत्पन्न तीन शक्ति, एक शिला र पाँच अवतार रहेको गाईखुरा महादेव मन्दिर धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ । गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग र दुई पहेँला नाग स्पष्ट देख्न सकिन्छ ।यो शिलामा दुई जीवित नाग बेला बेलामा घुम्ने गरेको मेलुङ –२ कुमाटे टोलका पञ्च राणा बताउनुहुन्छ । उहाँका अनुसार विशेषगरी यहाँ सोमबार, बिहिवार र शनिबार दर्शानार्थीहरु आउने गर्छन् । यो मन्दिरमा वेद, रुद्री, चण्डी र सवालाख बत्ती बालेर दर्शन गरेमा जुनसुकै सङ्कट परे पनि समाधान हुने, आपतविपत दुर्घटनाबाट बचाउने, अकालमा मर्नबाट जोगाउने, धन प्राप्ती हुने विश्वास रहँदै आएको छ ।यहाँ दैनिक एक सयदेखि डेढसय सम्म भक्तजनहरु आउने गर्छ । तीज, शिवरात्री जस्ता पर्वमा भने पन्ध्र सय देखि दुई हजार सम्म भक्तजनहरु आउने गर्छन। धेरै पहिले यो ठाउँमा सधै गाईले दूध दिने गरेपछि स्थानीयहरुले खोतलेर हेर्दा गाईखुरा महादेवको शिला भेटिएको थियो । त्यसपछि  गाईखुरा महादेवको पुजा गरिदै आएको स्थानीय टंक प्रसाद भण्डारी बताउनुहुन्छ। ६० घरधुरी रहेको यहाँका स्थानीयहरुले दैनिक एकएक घर गरि आ–आफ्नो पालोमा नित्य पुजा गर्छन् । यहाँको पुजामा कमीकमजोरी भएमा बाघले दुःख दिने गरेको भण्डारीले बताउनुभयो । विगतदेखि नै स्थानीयवासीले सुधार र संरक्षण गर्दै आएको यो स्थानमा हाल गाउँपालिकाले जिम्मा लिएर वरिपरि कम्पाउण्ड निर्माण गरी मन्दिरलाई थप व्यवस्थित गरिएको छ । भीरालो क्षेत्रमा अवस्थित यस क्षेत्रलाई व्यवस्थित गर्न गाउँपालिका बजेट छुुट्टाएर काम गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकले बताए। प्रचारप्रसार र पूर्वाधारका अभावका कारण मन्दिर  ओझेलमा परेको भन्दै उनले मन्दिरको व्यवस्थापन र पूर्वाधार निर्माणका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरे।नयाँ तीर्थस्थलको रूपमा श्रद्धालु भक्तजनले रुचाएको गाईखुरा महादेव मन्दिरसम्म नै यातायात सञ्चालन भएपछि टाढा–टाढादेखि आएर रात बसेर पूजापाठ र दर्शन गरी श्रद्धालु भक्तजन फर्कने गर्दछन् । आगामी दिनमा यहाँ होमस्टे लगाएको निमार्ण गरि भक्तजनहरुलाई थप सहज बनाउने गाउँपालिका अध्यक्ष थोकरले बताए ।