कालिञ्चोकको कफी युरोपमा

२२ असार २०८०, शुक्रवार राम्रो पोष्ट
राम्रो पोष्ट
२२ असार २०८०, शुक्रवार

रविता महत
धेरैलाई कफि भनेपछि बिहानि समयको याद आउँछ। एक कप कफि पिएर सुरु भएको दिन निकै फुर्तिलो, जोसिलो र मन फुरुङ्ग भएर बित्ने भएकोले पनि कफी सबैले चाहाने पिय पदार्थ बन्न पुगेको छ ।
अफ्रिका, दक्षिण अमेरिका, मध्य अमेरिका र दक्षिणपूर्व एसियामा व्यवसायीक खेती हुँदै आएको कफिले धेरै देशको अर्थतन्त्रमा ठुलो भुमिका निभाएको छ ।
बजार माग बढ्न थालेपछि नेपालमा समेत कफिको व्यवसायीक खेती हुदै आएको छ ।
यसैक्रममा दोलखाको कालिञ्चोक गाउँपालिकामा उत्पादित कफि भने युरोपमा निर्यात हुन थालेको छ।
गाउँपालिकाको वडा नम्बर ८ सुनखानी स्थित निलकमल कृषि सहकारीले युरोपेली मुलक फ्रान्स र इटालीमा कफी निर्यात गर्न थालेको हो।
कफी बजार व्यवस्थापनको लागि द–फ्रेस्को हिमालयन कम्पनी काठमाण्डौसंग व्यापार सम्झौता गरेर सहकारीको नाम र लोगोसहितको कफी अन्तर्राष्ट्रिय बजारमा निर्यात सुरु गरिएको सहकारीका संस्थापक अध्यक्ष टहल आचार्यले बताए ।
निलकमल कृषि सहकारी संस्थाले यो वर्ष मात्र १ लाख ४३ हजारको कफी निर्यात गरेको छ ।
कृषि सहकारीले परम्परागत रुपमा कफी खेती गर्दै आएका कृषकबाट संकलन गरेर विक्री गरेको हो ।
कफी बाँदरले पनि विगार नगर्ने, खेती प्रविधि सहज र बजार व्यवस्थापनकै कारण कालिञ्चोकका कृषकहरु अहिले कफी खेती तर्फ आकर्षित भएका छन् ।
कफीको उत्पादन र बजारको सम्भावनालाई अध्ययन गरेर सहकारीले यस बर्ष ५१ जना कृषकलाई तालिम प्रदान गरी ६ हजार कफीका विरुवा समेत वितरण गरेको सहकारीका अध्यक्ष कल्पना खरेलले बताइन्। ‘कृषकको मागलाई ध्यानमा राखेर यो वर्षबाट सहकारी आफैले कफीको नर्सरी समेत गर्ने योजना बनाएका छौँ।’ उनले भने,
‘त्यसैगरि द लेप्रोसी मिसन फाउण्ड प्रोजेक्ट र द फ्रेस्को हिमालयन कम्पनी काठमाण्डौंको सहयोगमा ६ हजार कफीका विरुवा रोप्ने काम सम्पन्न गरिएका छौँ।’
सहकारीले १५ रोपनी क्षेत्रफलमा अदुवा खेती गरे तापनि बजार व्यवस्थापनको अभावले अदुवा खेती प्रभावकारी नभएपछि पछिल्लो समय विकल्पको रुपमा कफी खेती छनौट गरेका हुन्।
२०६७ सालमा कुष्ठ प्रभावित र अपाङ्गता भएका व्यक्तिको उत्थानका लागि ऋङ्गेश्वर स्वय सहायत समूह गठन भएको थियो । लेप्रोसी मिसन नेपालको सहयोगमा गठन भएको उक्त संस्था २०७० सालमा निलकमल कृषि सहकारी संस्थाको रुपमा रुपान्तरित भएर कृषकलाई व्यवसायिक बनाउने अभियानमा छन् । संस्थाले हाल कालिञ्चोक गाउँपालिका वडा नं ७,८ र ९ कार्यक्षेत्र बनाएर सेवा विस्तार गर्दै आएको छ ।