थामी जातीको संस्कृति संरक्षणका लागि 'सिलोक पालाखे' प्रकाशित

१८ असार २०८०, सोमवार राम्रो पोष्ट
राम्रो पोष्ट
१८ असार २०८०, सोमवार
चरिकोट । सीमान्तीकृत थामी समुदायको ऐतिहासिक दस्ताबेज कर्मकाण्ड ‘सिलोके पालाखे’ प्रकाशन गरिएको छ । थामी समुदायको संस्कृतिको संरक्षण तथा संबर्धन गर्ने उदेश्यले नेपाल थामी समाज दोलखाले सो पुस्तक प्रकाशित गरेका हुँन। पुस्तकको विमोचन प्रतिनिधि सभा सदस्य गंगा कार्की तथा प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले र ठूला थामीले संयुक्त रुपमा गर्नुभएको थियो । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य गंगा कार्की तथा प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले र ठूला थामीले ‘सिलोके पालाखे’ पुस्तक थामी समुदायका नयाँ पुस्ताका युवाहरूलाई संस्कार संस्कृति जोगाउन महत्वपूर्ण दस्ताबेज बन्ने बताउनुभयो । नेपाल थामी समाज दोलखाका अध्यक्ष होम बहादुर थामीको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली, कालिन्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटी, विगु गाउँपालिका उपाध्यक्ष देविका थामी, नेपाल थामी समाजका पूर्व केन्द्रीय महासचिव एवं सञ्चारकर्मी लक्ष्मण थामी, नेपाल थामी समाज दोलखाका वरिष्ठ उपाध्यक्ष वसन्त थामी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । करिव सात सय पृष्ठको कर्मकाण्ड पुस्तक ‘सिलोके पालाखे’मा थामी समुदायको कुल पुजा, भुमेपुजा, जन्म, विवाह, मृत्यु संस्कार लगायतका सांस्कृतिक विषय समावेश गरिएको पुस्तकका सङ्कलक, सम्पादक लक्ष्मण थामीले बताउनुभयो । दोलखा जिल्ला उद्गम थलो रहेको थामी समुदायका मानिस अहिले देशको ३२ जिल्लामा बसोबास गर्दै आएको नेपाल थामी समाज दोलखाका अध्यक्ष होम बहादुर थामीले जानकारी दिनुभयो । २०६८ सालको जनगणनामा झण्डै २८ हजार जनसङ्ख्या रहेको थामी समुदाय २०७८ सालको जनगणनामा ३२ हजार सात सय ४३ देखिएको छ ।