टोकियोमा राधिका दासीको प्रवचन आज



टोकियो । प्रखर कथावाचिका राधिका दासीले आज जापानको टोकियोमा धार्मिक तथा आध्यात्मिक प्रवचन गर्ने भएकी छिन्। जापान नेपाल फुटबल एसोसिएसन (एन्फा जापान) को आयोजनामा हुने उक्त कार्यक्रम आज (आइतबार) साँझ ५ बजेदेखि १० बजेसम्म टोकियो नजिकै रहेको रारा नेपाली खाजा घर, हाइजिमामा सञ्चालन हुने छ ।
यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा जापानस्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी उपस्थित रहने जनाइएको छ।
राधिका दासीले सेप्टेम्बर ९ (मङ्गलबार) का दिन पनि साँझ ५ बजेदेखि १० बजेसम्म हामुरा स्टेशन नजिक प्रिमो हलमा प्रवचन दिने कार्यक्रम तय गरिएको छ।
आयोजक संस्था एन्फा जापानका अध्यक्ष शिव खड्काका अनुसार उक्त धार्मिक तथा आध्यात्मिक प्रवचनले प्रवासमा रहेका नेपालीहरूलाई धर्म, संस्कृति र अध्यात्मप्रति थप नजिक्याउने अपेक्षा गरिएको छ।
कार्यक्रम पश्चात राधिका दासी श्यामसुन्दर शर्माको विशेष निमन्त्रणामा जापानको फुकुओका प्रस्थान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
राधिका दासीबारे
मोरङमा जन्मिएकी राधिका दासी व्यक्तिगत संघर्ष र पीडाबाट उदाउँदै धार्मिक जीवनमा प्रवेश गर्न सफल भएकी प्रखर कथावाचिका हुन्।
उनले वृन्दावनमा धर्म–अध्ययन गरेर नेपाल फर्केपछि समाजसेवामा सक्रिय छन् । विशेषगरी इटहरीस्थित ‘माया घर नेपाल’ स्थापना गरेर मानसिक र शारीरिक रूपमा असहाय व्यक्तिहरूलाई उद्धार र आश्रय दिँदै समाजमा उल्लेखनीय योगदान दिएकी छिन्।
नेपालका विभिन्न सहरदेखि अमेरिका र युरोपसम्म आयोजित महायज्ञ तथा धार्मिक कार्यक्रमहरूमा कथा वाचन गर्दै आएकी दासीको प्रवचन शैली सरल, भावनात्मक र जीवनसँग जोडिएको हुन्छ।
यही कारणले नेपाली समाजमा उनको प्रवचनप्रति गहिरो विश्वास र आस्था रहेको छ।