एनआरएनए जापानमा कार्यालय सचिव नियुक्त, सेवाग्राही नेपालीलाई सहज सुविधा



टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो घोषणापत्रमा उल्लेख गरिएको महत्वपूर्ण बिन्दु ‘कार्यालय सचिव’ नियुक्त गर्ने प्रतिबद्धता पूरा गरेको छ।
संघले आजदेखि नै लागू हुने गरी शिन–ओकुबोस्थित कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म (शनिबार, आइतबार र सार्वजनिक बिदाबाहेक) कार्य गर्ने कार्यालय सचिव नियुक्त अध्यक्ष सुभाष लामिछानेले जानकारी दिए।
अब जापानमा रहेका नेपालीले एनआरएनए जापानसँग सम्बन्धित सूचना, जापानमा सरल जीवनयापनका लागि आवश्यक जानकारी तथा भैपरी आउने समस्या समाधानका लागि सहजै सम्पर्क गर्न सक्ने भएका छन्।
इच्छुकहरूले संघको कार्यालयमै पुगेर वा हटलाइन नम्बर ०८०–६३५२–८२८६ मा फोन तथा म्यासेजमार्फत सो सेवा लिन सक्नेछन्। साथै, कार्यालय समयबाहिर वा फोन व्यस्त हुँदा भाइबरमा म्यासेजमार्फत पनि सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष लामिछनेले बताए।
एनआरएनए जापानले यस कदमले जापानवासी नेपालीको समस्या न्यूनिकरण र समाधानका लागि विभिन्न निकायहरूसँग समन्वय र सहजीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। संघले सबै नेपालीको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै ‘सम्भव अभियान’लाई सफल बनाउन आह्वान गरेको छ।