बोरीभित्र मानव अस्थिपञ्जर, चार खप्पर फेला !



टोकियो। जापानको कानागावा प्रान्तस्थित ऐकावा सहरमा मानव अस्थिपञ्जर फेला परेपछि त्रास फैलिएको छ।
अगस्ट १९ का साँझ करिब ५ बजे सामग्री भण्डारण स्थल व्यवस्थापकले चारवटा भुसका बोरी देखे, जसलाई खोलेपछि भयानक दृश्य प्रकट भयो—भित्र थिए चार वटा खप्पर र पाँच–छ जनाका हातखुट्टाका हड्डी!
प्रारम्भिक अनुसन्धानमा तीन खप्पर पुरुष र एउटा महिला व्यक्तिको भएको देखिएको छ। केही हड्डी अझै माटोमा लिप्त अवस्थामा थिए। कानागावा प्रान्तीय प्रहरीले यसलाई “शव परित्याग” को अपराध मानेर डीएनए परीक्षणमार्फत मृतकको पहिचान गर्न थालेको छ।
घटनास्थल एक श्रीलंकाली व्यवसायीले भाडामा प्रयोग गर्दै आएको जमिनमा भए पनि उनले “बोरी कसले ल्यायो, मलाई थाहा छैन” भन्दै पन्छिएका छन्।
स्थानीय बासिन्दा भने डरले त्रसित छन्। “पहिले पनि चोरीका घटना सुनेका थियौं, अब त लास भेटियो। साँच्चिकै डर लाग्छ,” उनीहरूको भनाइ छ। यो रहस्यमय घटनाले जापानभर हलचल मच्चाइरहेको छ।