टोकियोमा तीज फेस्टिभल आजदेखिः एउटै मितिमा दुई ठूला कार्यक्रम, नेपाली समुदाय ‘दोहोरो विकल्प’मा



टोकियो – यस वर्ष जापानमा बस्ने नेपाली समुदायका लागि तीज पर्व विशेष र रोचक बन्ने भएको छ। राजधानी टोकियोमै अगस्ट २३ र २४ का दिन दुई ठूला तीज फेस्टिभल आयोजना भएका छन्, जुन आजबाट सुरु भएर भोलि समापन हुँदैछ।
पहिलो कार्यक्रम तोयोमा पार्क (सिनओकुबो नजिकै) मा हुनेछ। बिहान १० बजेदेखि बेलुकी ६ः३० बजेसम्म चल्ने यस फेस्टिभलमा चर्चित कलाकार प्रकाश सपुत, प्रीति आले, खुमन अधिकारी, कुमार कर्की, ऋतु कँडेल लगायतले प्रस्तुति दिनेछन्। यो कार्यक्रमको आयोजन SMYG Group ले गरेको हो ।
त्यस्तै, अर्को भव्य कार्यक्रम शिबा पार्क (टोकियो टावर नजिकै) मा दिउँसो १२ बजे देखि बेलुकी ७ बजेसम्म हुनेछ। यसमा पशुपति शर्मा, नारायणी खत्री, पुर्णकला बिसी लगायत दर्जनौं कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन्। यो फेस्टिभललाई Destiny Creation ले विभिन्न संघ–संस्थासँगको सहकार्यमा आयोजना गरेको हो।
दुवै फेस्टिभलमा मौलिक तीज गीत प्रतियोगिता, स्वादिष्ट फूड स्टलहरू, साथै जापानमा रहेका नेपाली तथा जापानी कलाकारहरूको समेत विशेष प्रस्तुति रहने बताइएको छ।
करिब एक करोड लागत अनुमान गरिएको यी कार्यक्रमहरूमा हजारौं दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ। तर एउटै दिन र एउटै सहरमा दुई ठूला महोत्सव हुँदा नेपाली समुदायमा रोचक ‘प्रतिस्पर्धा’ सिर्जना भएको छ। कतिपयले यसलाई समुदायको सांस्कृतिक सक्रियता र आकर्षणको प्रतीक भनेका छन्, भने कतिपयले “उत्सवको भव्यतालाई असर पार्न सक्छ” भन्ने चिन्ता पनि व्यक्त गरेका छन्।
नेपालबाट कलाकार बोलाएर ठूलो व्यवस्थापनसहित हुने यस्ता कार्यक्रममा अधिक लाभ उठाउन नेपाली समुदायले एकजुट भएर सहभागी हुनुपर्ने देखिन्छ। तर एउटै समय दुई कार्यक्रम जुध्दा दुवै आयोजकका लागि जनसहभागिता र दर्शक संख्या सुनिश्चित गर्नु ठूलो चुनौती बन्न सक्छ।
यसरी, टोकियोको नेपाली समुदायका लागि यो वर्षको तीज पर्व साँच्चिकै सांस्कृतिक उत्साह र चुनौतीको मिश्रण बन्ने देखिएको छ।