एनआरएनएको केन्द्रिय परिषद्मा जापानबाट ८ जना ICC सदस्य सर्वसम्मत चयन



टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC ) मा जापानबाट ८ जना सदस्य सर्वसम्मत रूपमा चयन भएका छन्।आगामी अक्टोबरमा काठमाडौंमा हुने केन्द्रिय महाधिवेशन तथा निर्वाचनमा सहभागी हुँदै, यी सदस्यहरू जापानको तर्फबाट संघको केन्द्रमा प्रतिनिधित्व गर्ने जिम्मेवारीसहित चयन भएका हुन् ।गत जुलाई १६ मा सम्पन्न मनोनयन प्रक्रियामा १० जनाले उम्मेदवारी दिएका थिए। आन्तरिक सहमतिपछि नागानोबाट विजय कार्की र टोकियोबाट मोनोज खड्काले उम्मेदवारी फिर्ता लिएपछि बाँकी ८ जनालाई सर्वसम्मत ICC सदस्य घोषणा गरिएको हो।सर्वसम्मत चयन भएका ICC सदस्यहरूमा टोकियोबाट शिवहरी पौड्याल र सुमन कार्की, सिजुओकाबाट कृष्ण केसी, नागोयाबाट राजकुमार अधिकारी, रामबहादुर खत्री (अर्जुन), रामबहादुर थापा तथा ओसाकाबाट यादुराम सापकोटा र टिकाराम कँडेल रहेका छन्। एनआरएनएको विधानअनुसार जापानबाट कुल १३ जना ICC सदस्य हुने व्यवस्था छ। तीमध्ये ८ जना निर्वाचनको आधारमा हुने र एक महिला सहित बाँकी ५ जना केन्द्रबाट मनोनीत गरिनेछन्। ती सदस्यहरू नयाँ निर्वाचित अध्यक्षको कार्यसमितिबाट तय गरिनेछन्। ICC सदस्यको हैसियत अन्य प्रतिनिधिभन्दा विशेष र प्रभावशाली मानिन्छ। नीति निर्माण, बजेट स्वीकृति, निर्णय प्रक्रियामा मताधिकार जस्ता अधिकारले सुसज्जित यी सदस्यहरू आगामी दुई वर्षको कार्यकालका लागि केन्द्रिय नेतृत्वमा सशक्त उपस्थिति जनाउने छन्। एनआरएनए जापानको आन्तरिक निर्वाचन भने यही जुलाई २७ मा सम्पन्न हुँदैछ।