दोलखा समाजको बाबेक्यु आइतबार, सबैलाई सहभागी हुन आव्हान



टोकियो, दोलखा समाज जापानले बाबेक्यु कार्यक्रम गर्ने भएको छ। जापानमा रहेका दोलखालीहरुलाई भला गरि मनोरञ्जन दिलाउने उद्देश्यले जुन १८ तारिख आइतबार बाबेक्यु गर्ने भएको हो। समाजका सचिव विनय गुरुङका अनुसार कार्यक्रम खानागावा प्रिफेक्चर, योकोहमा नगरको चुजुकी वडा स्थित खामोई स्टेशन नजिकैको बाबेक्यु स्पोटमा हुनेछ। समाजले यसअघि पनि यस्ता कार्यक्रमहरु गर्दै आइरहेको बताउँदै उनले यो पटकको कार्यक्रममा थप व्यवस्थित हुने भएकोले सबैलाई सहभागी हुन अनुरोध गरे। कार्यक्रममा सहभागी हुन पुरुषलाई तीन हजार पाँच सय र महिलालाई तीन हजार यन शुल्क तोकिएको छ। कार्यक्रममा बाबेक्युको भेराइटीको साथमा बिङ्गो खेल र नाचगान लगाएत हुनेछ। "नयाँ कार्यसमिति चयन भएसंगै जापान स्थित दोलखाली लक्ष्यित कार्यक्रमहरुका साथ अघि बढेका छौं।"समाजका अध्यक्ष रोशन थापाले भने "समाजले आगामी दिनमा जापानमा रहेका दोलखालीहरुको हकहितमा केन्द्रित भएर काम गर्नेछ।" त्यसैगरी जन्मभूमि दोलखाको शिक्षा क्षेत्र, खेलकुद क्षेत्र, प्रकृति प्रकोप र अपांगता क्षेत्रमा समेत सहयोग पुग्ने गरि काम गर्ने प्रतिबद्धता जाहेर गरे। समाजको हालै टोकियोमा सम्पन्न,चौथो अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो।