लामिछानेको जवाफः “म ढुक्क छु, मैले केही गलत गरेको छैन”

२ साउन २०८२, शुक्रवार राम्रो पोष्ट
राम्रो पोष्ट
२ साउन २०८२, शुक्रवार

टोकियो — आगामी एनआरएनए जापानको अध्यक्ष पदको चुनाव नजिकिँदै गर्दा सुभाष लामिछानेमाथि सार्वजनिक गरिएको ६ वर्ष पुरानो एक भिडियोले चुनावी मैदानमा सनसनी मच्चाएको छ। 

उक्त भिडियोलाई केही समूहले चुनावी अस्त्र बनाउँदै समाजमा नकारात्मक प्रभाव पार्ने प्रयास गरेपछि लामिछानेले आफ्नो तर्फबाट कडा जवाफ दिएका छन्।

लामिछानेले सामाजिक सञ्जालमा प्रकाशित आफ्नो स्ट्याटसमा लेखेका छन्, “भिडियो करिब ६ वर्ष पुरानो हो, साथीहरूसँगको सामान्य असमझदारीपछि मेलमिलापकै क्रममा भएको घटना हो। त्यो भिडियोमा देखिएको व्यक्ति म नै हुँ।” उनले यो पुरानो घटनालाई राजनीतिक लाभ लिन नहुने भन्दै स्पष्ट पारे, “म ढुक्क छु, मैले केही गलत गरेको छैन र कहिल्यै गर्ने छैन।”

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि लामिछानेको चरित्रप्रति केही प्रश्न उठ्न थालेका थिए। तर उनले आफूमाथि लागेको आरोपहरू पूर्ण रुपमा निराधार भएको बताएका छन्। “यो विषय पूर्ण रूपमा व्यक्तिगत हो र यसको कुनै सामाजिक असर छैन,” उनले भने।

चुनावी अभियानको क्रममा यसरी विगतका घटनालाई चुनावी हतियार बनाउने प्रवृत्तिप्रति लामिछानेले चेतावनी दिएका छन्। उनले सबै उम्मेदवार र समर्थकहरूलाई सकारात्मक र सहकार्यपूर्ण प्रतिस्पर्धामा जुट्न आग्रह गर्दै भने, “एनआरएनएको नेतृत्व समाजका लागि हो, न कि व्यक्तिगत द्वन्द्वका लागि।”

उनले मतदातालाई समेत सम्बोधन गर्दै भने, “समाजलाई भाँड्ने होइन, बाँध्ने नेतृत्व आवश्यक छ। जीत र हार तपाईंहरूको मतमै निर्भर गर्छ।”

६ वर्ष पुरानो भिडियोलाई लिएर आएको विवादले एनआरएनए जापानको चुनावी क्षेत्रलाई थप गर्मिलो बनाएको छ भने लामिछानेको जवाफले आगामी निर्वाचनमा चरित्र र आचरणकै महत्त्व उजागर गरेको छ।

.