निर्वाचनअघि नै जित ! अञ्जु भण्डारीसहित एनआरएनए जापानका पाँच महिला उम्मेदवार निर्विरोध तर्फ

२ साउन २०८२, शुक्रवार राम्रो पोष्ट
राम्रो पोष्ट
२ साउन २०८२, शुक्रवार

टोकियो — गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२ औं महाधिवेशन अन्तर्गत सम्पन्न उम्मेदवारी दर्तापछि केही पदमा महिला उम्मेदवारहरू निर्विरोध निर्वाचित हुने सम्भावना बलियो देखिएको छ । 

निर्वाचन समितिबाट सार्वजनिक प्रारम्भिक उम्मेदवार नामावलीअनुसार महिला उपाध्यक्ष पदमा अञ्जु भण्डारी एकल उम्मेदवारका रूपमा देखिएकी छन्।

त्यस्तैगरी, महिला सचिव पदमा ललिता तामाङ, महिला सह–कोषाध्यक्षमा कामना भण्डारी, महिला संयोजकमा मञ्जु बन र महिला सदस्यमा ईश्वरी अर्याल पनि प्रतिस्पर्धाविहीन उम्मेदवारका रूपमा देखा परेका छन्। 

यिनीहरू सबैको उम्मेदवारी वैधानिक रूपमा स्वीकृत भएमा निर्वाचन प्रक्रियाबाट निर्वाचित घोषणा गरिनेछ ।

निर्वाचन समितिका अनुसार प्रारम्भिक सूचीमा प्रतिस्पर्धी नदेखिएका उम्मेदवारहरूमाथि दावी–विरोध वा उजुरी दर्ता गर्ने समय जुलाई १८ (शुक्रबार) सम्म कायम रहेको छ । उक्त समयावधिमा कुनै उजुरी नपरेमा जुलाई २० (आइतबार) मा अन्तिम उम्मेदवार सूची प्रकाशित हुनेछ ।

महिला सहभागिता र नेतृत्वको दृष्टिकोणले यो निर्वाचन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। संघको विभिन्न तहमा महिला उम्मेदवारहरू एकल रूपमा अगाडि देखिनु, भविष्यमा प्रवासी नेपाली महिलाहरूको भूमिका सशक्त हुँदै गएको संकेतको रूपमा हेरिएको छ ।

हाल सार्वजनिक नामावलीअनुसार, अञ्जु भण्डारीसहित पाँच महिला उम्मेदवार निर्विरोध निर्वाचित हुने सुनिश्चितप्रायः देखिएको छ। यद्यपि अन्तिम निर्णय निर्वाचन समितिबाट तोकिएको प्रक्रियापश्चात् मात्र आधिकारिक रूपमा घोषणा हुनेछ।

.