भानुभक्त जयन्तीको अवसरमा टोकियोमा 'नेपाली काव्य गोष्ठी' सम्पन्न



टोकियो। नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा टोकियोस्थित नेपाली राजदूतावासमा ‘नेपाली काव्य गोष्ठी’ सम्पन्न गरिएको छ।
जापानमा नेपाली साहित्यको प्रवद्र्धन, संरक्षण र विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति माझ कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको सभापतित्व महामहिम नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले गर्नुभएको थियो । आफ्नो मन्तव्यमा राजदूत सुवेदीले भानुभक्त आचार्यले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरी आम नेपालीलाई आत्मसात् गर्नसक्ने बनाएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो।
उहाँले प्रवासमा रहेका नेपालीले भाषा र साहित्यको संरक्षणमा खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार धर्म मधुकर्मी रहनुभएको थियो। उहाँलाई नेपाली साहित्यमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विशेष सम्मान प्रदान गरिएको थियो।
विशिष्ट अतिथिका रूपमा डा. कुमार बस्नेत, हारुहितो नोजु, प्रकाश पौडेल, विष्णु घिमिरे, दिनेशराज ज्ञवाली, दीप पाठक र देवीबहादुर इंगनामजस्ता प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित रहनु भएको थियो।
काव्य वाचन सत्रमा अरुण पौडेल, हेमन्त गिरी, सरिता ढकाल, प्रहार पौडेल, गायत्री पौड्याल,लक्ष्मण भन्तना, महेन्द्र न्यौपाने, रबिन्द्र दिखुप्पा, स्प्रिया भट्टराई र बिजय सांबोले आ–आफ्ना सिर्जनात्मक रचनाहरू प्रस्तुत गर्दै गोष्ठीलाई साहित्यिक ऊर्जाले भरिपूर्ण बनाएका थिए।
कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिका सचिव रबिन शर्माले प्रभावशाली ढंगले गर्नुभएको थियो।
भाषा, साहित्य र संस्कृतिप्रतिको सम्मानसहित सम्पन्न उक्त कार्यक्रमले टोकियोस्थित नेपाली समुदायमा साहित्यिक चेतना र आत्मीयता झनै सघन बनाएको सहभागीहरूको प्रतिक्रिया रहेको छ।