एनआरएनए जापानको महिला सचिवमा ललिता तामाङको उम्मेदवारी : अनुभव, संकल्प र समावेशीताको समिश्रण



जापान – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल २०२५–२७ का लागि ललिता तामाङले ‘महिला सचिव’ पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
लामो समयदेखि एनआरएनए अभियानमा सकृय ललिता संस्थाभित्र विभिन्न जिम्मेवारीहरूमार्फत परिपक्व अनुभव हासिल गरेकी एक प्रतिबद्ध सामाजिक अभियन्ता हुन् ।
उनले एनआरएनए कान्तो क्षेत्रीय समितिको सदस्य, महिला उप–संयोजक हुँदै हाल २०२३–२५ को केन्द्रीय सदस्यको रूपमा सफल कार्यसम्पादन गरिसकेकी छिन्।
उम्मेदवारी घोषणा गर्दै तामाङले भनिन्, “एनआरएनएको मूल मर्म समावेशिता, पारदर्शिता र सहकार्य हो। म ती मूल्यहरूलाई आत्मसात गर्दै सबैको आवाजलाई प्रतिनिधित्व गर्ने अठोटका साथ अघि बढेकी छु।”
महिलाको निर्णायक उपस्थिति, सशक्त आवाज र अवसरको सुनिश्चितता आफ्नो अभियानको मूलमन्त्र रहेको बताउँदै उनले भनिन् ‘आगामी निर्वाचनमा मलाई साथ दिन जापानभर रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अपिल गर्दछु।’
जापानबासी नेपालीहरुको सुझाव, समर्थन र विश्वास नै आफ्नो प्रेरणा रहेको तामाङको भनाइ छ।
गैरआवासीय नेपालीहरूको साझा संस्था एनआरएनए जापानको निर्वाचन यही आउँदो जुलाई २७ तारिख आइतबारका दिन हुन गइरहेको छ।
अबको नेतृत्वले महिला सहभागितालाई अझ प्रभावकारी बनाउँदै नेपाली समुदायलाई एकताको सुत्रमा बाँध्ने अपेक्षा गरिएको छ।