तामाकोशी–३ आयोजनामा ६५० मेगावाटभन्दा कम स्वीकार्य छैन, भवन भट्टलाई दोलखालीको सार्वजनिक चेतावनी



चरिकोट । दोलखालीको स्वाभिमान र नेपालको ऊर्जाजन्य भविष्यसँग जोडिएको तामाकोशी–३ जलविद्युत् आयोजनाको भविष्य पुनः अनिश्चिततामा परेको छ।
भवन भट्ट नेतृत्वको टी थर्ड हाइड्रो कम्पनीले आयोजना क्षमता घटाएर ३९७ मेगावाट बनाउने तयारी गरिरहँदा दोलखाली जनप्रतिनिधिहरू, राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूको स्पष्ट चेतावनी आएको छ “६५० मेगावाटभन्दा कमको आयोजना स्वीकार्य छैन। अब या त निर्माण अघि बढाऊ, या छाड ।”
शुक्रबार काठमाडौंमा आयोजित विशेष छलफल कार्यक्रममा टी थर्ड हाइड्रोका अध्यक्ष तथा एनआरएनएका पूर्व अध्यक्ष भवन भट्ट र प्रबन्ध निर्देशक गोरे शेर्पालाई दोलखाली पक्षबाट यो बटमलाइन सार्वजनिक रूपमा सुनाइएको हो।
छलफल नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री अनन्द पोखरेल, पार्वत गुरुङ, प्रतिनिधिसभा सदस्य गंगा कार्की, राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, प्रदेश सांसद भरतबहादुर केसी, नेपाली कांग्रेसका पूर्व सांसद जीपछिरिङ शेर्पा, कांग्रे दोलखाका अध्यक्ष बर्मा लामा, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, माओवादी नेतृव, पूर्वसांसदहरू, स्थानीय तहका प्रमुख र नागरिक समाजका अगुवाहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
छलफलमा नेताहरूको स्वर समान थियो “लाइसेन्स लिएर आयोजना होल्ड गर्ने, क्षमता घटाउने र जनप्रतिनिधिलाई बेवास्ता गर्ने प्रवृत्तिको अब अन्त्य हुनुपर्छ।” पूर्वमन्त्री पार्वत गुरुङले उर्जामन्त्रीको सहायतामा मात्र भवन भट्टसँग सम्पर्क सम्भव भएको उल्लेख गर्दै, दोलखाली पक्षले लामो समयदेखि खोजी गर्दा समेत डेभलपर सम्पर्कमा नआएकोप्रति आक्रोश व्यक्त गरे।
प्रतिनिधिसभा सदस्य गंगा कार्कीले त कडा चेतावनी दिँदै भने, “यदि ६५० मेगावाटको आयोजनामै काम नहुने हो भने तपाईहरू मुडे कटेर दोलखा नआउनुस्। यो जनताको तर्फबाट स्पष्ट सन्देश हो।”
छलफलमा बोल्दै कम्पनीका अध्यक्ष भवन भट्ट र प्रबन्ध निर्देशक शेर्पाले भने प्राविधिक कारणले आयोजना ३९७ मेगावाट क्षमताभन्दा माथि लैजान सम्भव नरहेको तर्क गरे। तर सो तर्क दोलखाली पक्षले अस्वीकार गर्दै Statkraft को प्रारम्भिक अध्ययन र नेपाल लगानी बोर्डको समेत ६५० मेगावाटको सम्भावना औंल्याउँदै सोही क्षमतामै आयोजना निर्माण हुनुपर्ने अडान दोहोर्याए।
स्थानीय नेताहरू र नागरिक समाजले डेभलपरको ढिलाइ र अस्पष्टता दोलखाली जनताको अपमान भएको बताए। छलफलमा सहभागी अधिकांशले आयोजनाको क्षमता घटाउने सोचलाई पनि राष्ट्रघाती भन्दै विरोध जनाए।
तामाकोशी–३ को विगत : ६५० मेगावाटको सपना
तामाकोशी–३ आयोजना २०६५ सालमा वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन (ईआइए) सहित ६५० मेगावाट क्षमतामा निर्माणको योजना बनाइएको थियो। नर्वेगियन कम्पनी Statkraft (SN Power) ले विस्तृत सम्भाव्यता अध्ययन गरिसकेको थियो, जसमा आयोजना पूर्ण वर्षभर सन्चालनयोग्य र आर्थिक रूपले व्यवहारिक ठहरिएको थियो।
तर २०१६ मा Statkraft ले नियामकीय अस्पष्टता, व्यावसायिक चुनौती र स्थानीय स्थायित्व अभाव भन्दै आयोजना छाड्यो। त्यसपछि २०७७ सालमा सरकारले टी थर्ड हाइड्रो कम्पनीलाई सिधै आयोजना विकासको जिम्मा दियो। यो निर्णय सर्वोच्च अदालतसम्म पुगेर कानुनी विवादमा फसेको थियो। पछि सर्वोच्च अदालतले सरकारलाई आयोजना सिधा दिन सक्ने अधिकार छ भन्दै काम अघि बढाउन बाटो खोलेको थियो।
तर यसबीच कम्पनीले लामो समयसम्म आयोजना “होल्ड“ गरेर राख्यो। जनप्रतिनिधिहरूका अनुसार, न स्पष्ट योजना आयो, न निर्माण प्रक्रिया सुरु भयो। झन् अहिले आयोजना ६५० बाट घटाएर ३९७ मेगावाट बनाउने प्रस्तावपछि दोलखाली जनमत आक्रोशित भएको हो।