यस अधिवेशनलाई लक्षित गर्दै विभिन्न क्षेत्रीय समितिहरूको अधिवेशन आयोजना हुँदै छन्।

नेपाल मगर संघ जापानको २२ औं महाअधिवेशन तयारी सुरु, ओकिनावाबाट भव्य सुरुवात

२५ असार २०८२, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
२५ असार २०८२, बुधवार

ओकिनावा, जापान — जापानमा बसोबास गर्ने मगर समुदायबीचको एकता, सामाजिक समावेशिता र सांस्कृतिक पहिचानको सशक्त प्रतिनिधि नेपाल मगर संघ जापानले आफ्नो २२औं केन्द्रीय अधिवेशनको तयारी सुरु गरेको छ।

यस अधिवेशनलाई लक्षित गर्दै विभिन्न क्षेत्रीय समितिहरूको अधिवेशन आयोजना हुँदै छन्। सोही क्रममा, क्षेत्रीय समिति ओकिनावाको पहिलो अधिवेशन भव्य र ऐतिहासिक ढङ्गमा सम्पन्न भएको छ।

उक्त अधिवेशनबाट रामबहादुर थापा मगर सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनु भएको छ।

नेपाल मगर संघ जापानका अध्यक्ष रामहरी खपांगी मगरले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

नेपाल मगर संघ जापानको स्थापना सन् १९९५ मा भएको हो।

स्थापनाको सुरुवाती दिनदेखि नै संघले जापानभरि फैलिएका मगर समुदायलाई एक सूत्रमा बाँध्दै, भाषा, संस्कृति, संस्कार र सामाजिक उत्तरदायित्वलाई संरक्षण गर्ने अभियान चलाउँदै आएको छ।

आजसम्मको यात्रामा संघले थुप्रै सामाजिक–सांस्कृतिक कार्यक्रम, राहत संकलन, युवा परिचालन र संस्थागत विकासमा उल्लेखनीय भूमिका खेलेको छ।

संघले अहिलेका अधिवेशनहरूलाई आगामी केन्द्रीय अधिवेशनको आधार स्तम्भ मानेर, सम्पूर्ण जापानी भूभागमा मगर समुदायको संगठित उपस्थिति विस्तार गर्ने लक्ष्य लिएको छ।

आगामी क्षेत्रीय अधिवेशनहरूको तालिका यस प्रकार छः

जुलाई १३, आइतबार – ओसाका

जुलाई १३, आइतबार – गुन्मा

जुलाई २०, आइतबार – सेन्दाई

जुलाई २७, आइतबार – सिजुओका

अगस्ट ३, आइतबार – नागोया

अगस्ट १०, आइतबार – फुकुओका

संघले सम्बन्धित सहर र वरपर बसोबास गर्ने सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमै उपस्थित भई अधिवेशनलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

नेपाल मगर संघ जापानले समुदायको भावना, योगदान र सक्रियताको बलमा आगामी केन्द्रीय महाअधिवेशनलाई ऐतिहासिक, समावेशी र उदाहरणीय बनाउने विश्वास लिएको छ।

 

.