जापानमा सामाजिक सञ्जालमा चरित्रहत्या गर्नेहरूमाथि अझ कडा सजायको तयारी



टोकियो, – जापान सरकारले सामाजिक सञ्जालमा चरित्रहत्या तथा अनलाइन बदनामी गर्नेहरूमाथि अझ कडा सजायको व्यवस्था गर्न तयारी थालेको छ।
पछिल्ला वर्षहरूमा सेलिब्रिटी तथा सार्वजनिक व्यक्तिहरूलाई लक्षित गरी बढ्दो रूपमा हुने अनलाइन दुर्व्यवहारप्रति गम्भीर हुँदै न्याय मन्त्रालयले नयाँ कानुनी सुधारबारे अध्ययन गर्न एक विज्ञ समिति गठन गर्ने घोषणा गरेको हो।
न्यायमन्त्री केसुके सुजुकीका अनुसार सन् २०२२ मा संशोधन गरिएको फौजदारी संहिताले अनलाइन दुर्व्यवहार तथा चरित्र हत्या जस्ता कार्यहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकेको छ कि छैन भन्ने विषयमा विज्ञहरूसँग छलफल गरिनेछ।
हाल जापानमा कसैको मानहानी गर्ने वा चरित्र हत्या गर्ने कार्य प्रमाणित भएमा अधिकतम १ वर्ष कैद, ३ लाख येनसम्म जरिवाना तोकिएको छ। सन् २०२२ मा यो संशोधित कानुन लागू भएयता तीन वर्षमा करिब ९० मुद्दा दर्ता भए पनि एकपनि अभियुक्त जेल नपरेको न्याय मन्त्रालयको तथ्यांकले देखाएको छ। सबैजसो मुद्दामा केवल जरिवाना मात्र लगाइएको छ।
राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) का अनुसार अनलाइन बदनामी तथा दुर्व्यवहारका घटना हरेक वर्ष तीव्र गतिमा बढिरहेका छन्।
सन २०२२ मा ५२ वटा, २०२३ मा ७५ वटा, २०२४ मा १०० वटा मुद्दा दर्ता भएका छन्। यो आँकडाले सामाजिक सञ्जालमा चरित्र हत्या, मानहानी तथा धम्कीजस्ता कार्यहरू नियन्त्रण बाहिर जान थालेको देखाउछ ।
सन् २०२० मा रेस्लर तथा नेटफ्लिक्स रियालिटी शो ‘टेरेस हाउस’ की सदस्य हाना किमुराले अनलाइन घृणित सन्देशहरूको चपेटामा परेर आत्महत्या गरेपछि जापानी समाजमा अनलाइन दुर्व्यवहारबारे गम्भीर बहस सुरु भएको थियो।
संशोधित कानुनमा तीन वर्षपछि समीक्षा गर्नुपर्ने प्रावधान थियो, जसअनुसार सेप्टेम्बर २०२५ बाट विज्ञहरूको समिति मार्फत पुनरावलोकन गरिनेछ। यसले सजाय थप कडा बनाउने कि अझ स्पष्ट कानुनी परिभाषा तय गर्ने भन्ने विषयमा निर्णय गर्नेछ।
जापानमा सामाजिक सञ्जालमा गरिने चरित्र हत्या अब सजिलो भकअबउभ हुने विषय रहेन । कानुन कडा बनाउने तयारी सुरु भइसकेको छ, र यसले विशेषगरी अनलाइन माध्यममा दुर्व्यवहार गर्नेहरूमाथि कारबाहीको दायरालाई फराकिलो बनाउने संकेत दिएको छ। मानहानी गरिनेलाई जरिवाना मात्र होइन, अब जेल सजायको खतरा पनि बढ्दैछ।