ओसाकामा नेपाल चिनाउने सांस्कृतिक रङ्ग, जापानीहरु मन्त्रमुग्ध !



ओसाका,जापान । नेपालको पर्यटन प्रवर्द्धनका लागि जापानको ओसाका शहरमा नेपाली कला, धर्म, संस्कृति र परम्पराको जीवन्त झल्को प्रस्तुत गरिएको छ।
जापानीहरुलाई नेपालको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्वतीय पर्यटन स्थलहरु चिनाउने उद्देश्यले टोकियोस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो।
‘सुन्ददर प्रकृति र विविध संस्कृतिको देश नेपाल’(Nepal, A Land of Unique Nature and Diverse Culture) शीर्षकको कार्यक्रममा विविध सांस्कृतिक रचनात्मकता प्रस्तुत गरिएको जापान स्थित नेपाली राजदूतावासका सुचना तथा जनसम्पर्क अधिकृत शितल कार्कीले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाली लोकनृत्य, पहिरन, परिकार, हस्तकलाको फोटो प्रदर्शनीमार्फत नेपालको ऐतिहासिक, धार्मिक,सांस्कृतिक र पर्वतीय सम्पदाको उजागर गरिएको थियो ।
नेपाली बाँसुरीवादक राम महार्जनको एकल प्रस्तुति, युको ओकामोतो लगाएतका कलाकारहरुको लोकनृत्य र गायक आनन्द कार्कीको प्रत्यक्ष गायनले कार्यक्रममा सहभागी दर्शकहरू मन्त्रमुग्ध भएका थिए।
कार्यक्रममा प्रमुख अतिथि टोकियोस्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीले नेपाललाई प्रकृति, अध्यात्म र संस्कृति मिलेको अनुपम गन्तव्यका रूपमा प्रस्तुत गर्दै जापानी जनतालाई नेपाल भ्रमणको निम्तो दिनुभयो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कडेलले जापानी पर्यटकलाई लक्षित गरी विशेष प्याकेज विकास भइरहेको जानकारी दिनुभयो।
जापानी सांसद हिरोशी हिरागुची, पर्वतारोही मसाकाजु ओकाडा,माउन्ट ट्रेकर काओरी इनाबा लगायत विशिष्ट अतिथिहरूको उपस्थिति कार्यक्रमको विशेषता बनेको थियो।
कार्यक्रमको सञ्चालन पत्रकार जिज्ञान कुमार थापाले गर्नुभएको थियो ।
संस्कृति र पर्यटनलाई एकसाथ प्रस्तुत गरिएको यो कार्यक्रम नेपाल–जापान सम्बन्ध सुदृढ बनाउने दिशातर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।