३७ वर्षको कर्मथलोमा शेरचनको उपहार, 'नेपाली हाउस' का लागि ५० लाख येन, पहिलो किस्ताको १० लाख प्रदान



टोकियो । जापानमा रहँदै विभिन्न व्यवसायमार्फत नेपाली समुदायको प्रतिष्ठा बढाउँदै आएका रोविन शेरचनले एनआरएनए जापानको महत्वाकांक्षी योजना ‘नेपाली हाउस’ निर्माणका लागि ५० लाख येन सहयोग गर्ने घोषणा गरेका छन्।
शेरचनले सहयोग रकम पाँच किस्तामा प्रदान गर्ने जनाएका छन्। पहिलो किस्ताको १० लाख येन आज जुलाई ७ तारिखमा एनआरएनए जापानका अध्यक्ष नवीन निउरेमार्फत प्रदान गरिएको छ।
एनआरएनए जापानले चिवा प्रिफेक्चरमा निर्माण गर्न लागेको ‘नेपाली हाउस’ परियोजनालाई जापानमा रहेका नेपालीहरूका लागि साझा केन्द्रको रुपमा विकास गरिने लक्ष्य लिएको छ। यहाँ धार्मिक, सांस्कृतिक र सामाजिक सबै खाले कार्यक्रम गर्न मिल्ने संरचनाहरु निर्माण गरिनेछ।
परियोजनाका लागि करिब ३ करोड जापानी येनमा पाँच रोपनी क्षेत्रफल बराबरको जमिन खरिद भइसकेको छ।
यहाँ शिव मन्दिर, बौद्ध स्तुपा, संस्कार भवन, बैठक कक्ष, पाहुना गृह, र आपतकालीन अवस्थामा समस्यामा परेका नेपालीका लागि आश्रय गृह निर्माण गरिनेछ।
यस परियोजनाको कुल लागत करिब १० करोड येन अनुमान गरिएको छ।
शेरचनद्वारा प्रतिबद्ध ५० लाख येन सहयोग यो अभियानको सफलता तर्फको महत्वपूर्ण आधार बनेको छ।
जापानमा बसोबास गरिरहेका लाखौं नेपालीहरूलाई एकै थलोमा जोड्ने प्रयास स्वरुप अगाडि सारिएको यस अभियानलाई नेपाली समुदायले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्।
रोविन शेरचन एनआरएनए आइसीसीका उपाध्यक्ष हुन्। दुई वर्षअघि काठमाडौंमा सम्पन्न ११औं महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए। हाल उनी आगामी अक्टोबरमा हुने १२ औं महाधिवेशनका लागि आइसिसी अध्यक्ष पदको उम्मेदवारीको तयारीमा छन्।
जापानलाई कर्मथलो बनाएको ३७ वर्ष नाघिसकेका शेरचन मूलतः मुस्ताङमा जन्मिएर पोखरामा हुर्केका हुन्।
सन १९८८ मा जापान आएका शेरचनले सुरुवाती दिन भाषा सिक्दै रेष्टुरेन्टमा काम गरे। केही वर्षमै उनले आफ्नै व्यवसाय सञ्चालन थाले र आजसम्म आइपुग्दा उनले २० भन्दा बढी रेष्टुरेन्ट, होटल, बार, कलेज, हाइड्रोपावर, रेमिट्यान्सजस्ता क्षेत्रमा लगानी गरेका छन्।
एक समय उनका व्यवसाय अन्तर्गत सञ्चालित रेष्टुरेन्टको संख्या १६० सम्म पुगेको थियो।
उनी केवल व्यवसायमै सीमित छैनन्। जापानमा बसोबास गर्ने नेपालीहरूका लागि विभिन्न समयमा आर्थिक, सामाजिक र सांस्कृतिक सहयोग गर्दै आएका छन्। संकटका बेला उद्धार अभियानमा सहभागी हुने, संस्थागत रूपमा सामाजिक संरचना निर्माणमा जोड दिने काममा उनी अग्रसर छन्।
शेरचनले भनेका छन्, ‘नेपाली हाउस हाम्रो पहिचान र एकताको प्रतीक हो। यो सफल भएमा मेरो पनि गर्वको विषय हुनेछ।’
एनआरएनए जापानको नेतृत्वमा रहेका नवीन निउरेले यस अभियानलाई पूरा गर्न समुदायको साथ आवश्यक रहेको बताउँदै शेरचनजस्ता अग्रजहरूबाट प्राप्त सहयोगले अभियानमा थप ऊर्जा मिलेको बताए।
अमेरिका,यूरोप,अष्ट्रेलिया लगाएतका देशमा बसोबास गर्ने नेपालीहरूले यस्तै किसिमका साझा केन्द्र निर्माण गरिसकेका छन्। जापानमा भने यस्तो महत्वाकांक्षी योजना पहिलोपटक थालनी भएको हो।
यसलाई सफल बनाउन रोविन शेरचनको प्रतिबद्धता र योगदानले नयाँ ढोका खोलेको छ।
अब यो परियोजना सफल हुँदा जापानमा रहेका नेपालीहरूका लागि मात्र होइन, विश्वभरका नेपालीहरूका लागि प्रेरणा बन्नेछ।