खुल्ला सचिव पदमा बिनय गुरुङको दावी ‘नेपाली घर’ निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता



टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि खुल्ला सचिव पदमा बिनय गुरुङले उम्मेदवारीको दावी गरेका छन् ।
गुरुङ सामाजिक अभियन्ता हुन्। उनी यसअघि सदस्य पदमा अत्यधिक मत ल्याएर विजयी भएका थिए।
यसपटक उनले नेतृत्व तहमा पुगेर अझ प्रभावकारी रूपमा काम गर्ने बताएका छन्।
उनी करिब १४ वर्षदेखि सामाजिक सेवामा सक्रिय छन्। हालसम्म औपचारिक उम्मेदवारी दर्ता नगरे पनि खुल्ला सचिव पदमा प्रतिस्पर्धा गर्ने तयारी भइरहेको उनले बताएका छन्।
गुरुङ अहिले एनआरएनए जापानका केन्द्रीय सदस्य हुन्। साथै, उनी ‘तमू धीं जापान’का महासचिव, आदिवासी जनजाति महासंघ जापान शाखाका कान्तो क्षेत्रीय सचिव, र दोलखा समाज जापानका पूर्व सचिवसमेत रहिसकेका छन्।
गुरुङले आफूलाई अत्यधिक जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
‘पछिल्लो निर्वाचनमा मैले धेरै मत ल्याएर जितेको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसपटक सचिव पदमा पनि तपाईंहरूको साथले अगाडि बढ्ने आत्मबल छ।’
उनले पारदर्शिता, सक्रियता, शुद्धता र युवाको सहभागिता मुख्य नाराका रूपमा अघि सारेका छन्।
त्यस्तै, एनआरएनए जपानले निर्माण गर्न लागेको निर्माणाधीन ‘नेपाली घर’ परियोजनालाई उनले अत्यन्तै महत्वपूर्ण मानेका छन्।
‘नेपाली घर हाम्रो साझा सपना हो,’ उनले भनेका छन्, ‘यसलाई सफलतापूर्वक सम्पन्न गर्न व्यक्तिगत रूपमा पनि जिम्मेवारी लिन्छु।’
उनका अनुसार, जापानमा रहेका नेपालीहरूको पहिचानका लागि ‘नेपाली घर’ एक प्रमुख परियोजना हो।
उनले जापानभरका नेपाली समुदायसँग समर्थन र सल्लाहको अपेक्षा गरेका छन्।
‘मेरो जित तपाईंहरूको विश्वासको जित हुनेछ,’ उनले उल्लेख गरेका छन्।