एनआरएनए जापानको नेतृत्वका लागि सिद्धार्थ श्रेष्ठको उम्मेदवारी, कार्यदक्षता र समर्पणको भरोसा



टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्ष पदका लागि हालका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन्।
लामो समयदेखि संस्थाभित्र विविध भूमिकामा जिम्मेवारी सम्हाल्दै आएका श्रेष्ठले जापानमा बसोबास गर्ने नेपाली समुदायको समस्यालाई नजिकबाट बुझ्दै आएका छन्।
संस्थागत विकास, आप्रवासी नेपालीको हकहित र सामाजिक सुरक्षालाई केन्द्रमा राख्दै उनले नेतृत्वमा आउन लागेको घोषणा गरेका हुन्।
श्रेष्ठ सन् २००९ देखि एनआरएनए जापानमा आवद्ध छन् भने २०१५ मा मानार्थ सदस्य बनेका थिए। त्यसयता उनले (२०१९–२०२१) को कार्यकालमा प्रवक्ताको जिम्मेवारी, (२०२१–२०२३) मा महासचिव र हाल (२०२३–२०२५) कार्यकालमा उपाध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन्।
उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा उनले नेपाल फेस्टिभल, पासपोर्ट सेवा शिविरजस्ता प्रमुख कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै एनआरएनए जापानलाई थप जीवन्त बनाउने काम गरेको बताउछन्।
श्रेष्ठले विशेष रूपमा जापानमा समस्यामा परेका नेपालीहरूको उद्धार, सहयोग र नेपाल फर्काउने कार्यमा समेत संयोजनको भूमिका निभाएका छन्। आप्रवासी जीवनका पीडा बुझ्ने र नजिकबाट अनुभूति गर्ने व्यक्तिका रूपमा चिनिएका श्रेष्ठले नेपाली समुदायमा सधैं साथ दिने व्यक्तित्वको छवि बनाएका छन्।
एनआरएनए जापानले सुरु गरेको महत्वाकांक्षी “नेपाली हाउस” निर्माण परियोजनालाई पनि उनी संस्थाको साझा सपना मान्दै दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्छन्।
उनले यो परियोजना जापानस्थित नेपालीहरूका लागि गौरवको केन्द्र बनाउने लक्ष्य लिएका छन्।
उनले भने, ‘संस्था व्यक्ति होइन, विचार र प्रणालीमा टिक्नुपर्छ। म संस्थागत मूल्य, अनुशासन र पारदर्शिता कायम राख्दै सबै नेपालीलाई जोड्ने नेतृत्व दिन चाहन्छु।’ साथै एनआरएनए आईसीसीमा देखिएको विवाद र दुई समूहबीचको विभाजनबारे उनले अदालत र नेपाल सरकारको निर्णयको सम्मान गर्दै संस्थालाई एकढिक्का बनाएर अघि बढाउने बताए।
श्रेष्ठको उम्मेदवारीले प्रवासी नेपाली समाजमा व्यावहारिक अनुभव, सहानुभूति र व्यवस्थापकीय कुशलताको समिश्रण प्रस्तुत गरेको छ।
एक दशकभन्दा बढी समयदेखि संस्थाभित्र निरन्तर सक्रिय श्रेष्ठले नेतृत्वमा आएमा एनआरएनए जापानले दीर्घकालीन स्थायित्व र सेवा–मुखी मार्ग अपनाउने विश्वास व्यक्त गरिएको छ।