अनुभव, कार्यदक्षता र स्थायित्वसहित सुुभाष लामिछाने अध्यक्षको दौडमा

एनआरएनए अभियानलाई मजबुत बनाउने अठोटसहित सुभाष लामिछाने अध्यक्षको दौडमा

२२ असार २०८२, आइतवार राम्रो पोष्ट
राम्रो पोष्ट
२२ असार २०८२, आइतवार

टोकियो । सन् २००४ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान आजसम्म आइपुग्दा प्रवासी नेपाली समुदायको आवाज र अधिकारको प्रतिनिधि संस्थाको रूपमा स्थापित भएको छ।

जापानमा रहेका नेपालीहरूको हकहित, सामाजिक सुरक्षा, सांस्कृतिक पहिचान संरक्षण र सरकारी सेवा पहुँच जस्ता क्षेत्रमा एनआरएनएले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

संघको यही निरन्तरतालाई सुदृढ बनाउने अठोटका साथ हालका उपाध्यक्ष सुभाष लामिछाने आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा उम्मेदवारी दिँदै छन्। 

लामिछानेले जुलाई १२ तारिख शनिबारका दिन टोकियोको शिन–ओकुबोस्थित ब्याम्बो–छेँ मा विशेष कार्यक्रम गरी आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्ने भएका छन् ।

सन् २००९ देखि एनआरएनए जापानमा आवद्ध भई लामिछानेले (२०२१–२०२३) को कार्यकालमा प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए भने हाल (२०२३–२०२५) मा उपाध्यक्षको रूपमा क्रियाशील छन्।

उनको सक्रियता नेपाल फेस्टिभल, पासपोर्ट घुम्ती शिविरजस्ता सेवामूलक कार्यमा उल्लेखनीय रहँदै आएको छ।

एनआरएनए जापानले विगतमा ‘नेपाल महोत्सव’, ‘शैक्षिक तथा आप्रवासी सचेतना कार्यक्रम’, ‘भूकम्प राहत अभियान’ लगायतका कामहरू गर्दै जापानस्थित नेपालीहरूलाई संगठित र सशक्त बनाउने प्रयास गर्दै आएको छ। 

पछिल्लो समय सुरु गरिएको महत्वाकांक्षी योजना ‘नेपाली हाउस’ निर्माणलाई सफल बनाउने प्रतिबद्धता लामिछानेले पुनः दोहोर्याएका छन्।

उनले भनेका छन्, ‘यो संस्था हामी सबैको हो। यसलाई अझ पारदर्शी, समावेशी र परिणाममुखी बनाउँदै अगाडि बढाउने मेरो अठोट छ।’ लामिछानेले संस्थागत विकास र नीति निर्माणमा अनुभवको निरन्तरताले मात्र दीर्घकालीन समाधान सम्भव हुने दाबी गरेका छन्।

जापानभर फैलिएका शाखाहरू, सदस्यहरूको बढ्दो संख्यासँगै अबको नेतृत्व थप जिम्मेवार, संवादमुखी र नतिजामूलक हुनुपर्ने आवाज बीच लामिछानेले आफ्नो उम्मेदवारीले स्थायित्व र निरन्तरताको सन्देश दिएको बताएका छन्।

१३ औं महाधिवेशन नजिकिँदै गर्दा लामिछानेले अबको नेतृत्व अनुभव र कार्यदक्षतामा आधारित हुनुपर्छ भन्ने सन्देश सार्वजनिक रूपमा दिएका छन्।

उम्मेदवारको रूपमा लामिछाने सशक्त व्यक्तित्वका रूपमा प्रस्तुत भएका छन् ।

.