जेआर इस्टको पुरानो पोइन्ट कार्डबाट ठगी चेतावनी

२२ असार २०८२, आइतवार राम्रो पोष्ट
राम्रो पोष्ट
२२ असार २०८२, आइतवार

टोकियो । जापानको पूर्वी रेलवे कम्पनी JR East अन्तर्गत सञ्चालन हुने Atre शपिङ सेन्टरहरूले पुरानो Atre Club  पोइन्ट कार्डमा रहेको QR कोड स्क्यान गर्दा साइबर ठगीमा पर्न सकिने भन्दै सार्वजनिक चेतावनी जारी गरेका छन्।

Atre  शपिङ सेन्टरहरू टोकियोका अकिाहाबारा, उएनो, शिनागावा, एबिसु लगायतका स्थानमा रहेका छन्, जुन सबै JR East सँग आबद्ध छन्। ती शपिङ सेन्टरहरूमा सन् २०१३ अक्टोबरदेखि २०१६ फेब्रुअरीसम्म ग्राहकहरूलाई Atre Club नामको पोइन्ट कार्ड दिइन्थ्यो। ग्राहकले सामान वा भोजन खरिद गर्दा अंक जम्मा गर्न सक्थे, जुन उपहार कुपन वा विभिन्न वस्तुहरूमा साट्न सकिन्थ्यो।

कार्डको पछाडि रहेको QR कोड स्क्यान गर्दा ग्राहकहरू सीधै Atre Club  को वेबसाइटमा जान सक्थे। तर सन् २०१६ मा JR East  ले यो सेवा बन्द गर्दै सबै पोइन्टहरू JRE Point  नामक नयाँ प्रणालीमा सार्यो। वेबसाइट पनि बन्द गरियो र त्यसको डोमेन atre–club.jp केही समयपछि नियन्त्रणबाहिर गयो।

हाल यो डोमेन साइबर अपराधीहरूले कब्जा गरेको पुष्टि भएको छ। कार्डको QR कोड स्क्यान गर्दा ग्राहकहरू त्यसै डोमेनमा जान खोज्ने हुँदा फिसिङ साइट, मालवेयर, वा डाटा चोरी हुने खतरा रहेको बताइएको छ।

Atre कम्पनीले हालै प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता पुराना कार्ड प्रयोग गर्दा QR कोड स्क्यान नगर्न आग्रह गरेको छ। कम्पनीका अनुसार कार्ड भने अझै प्रयोग गर्न मिल्छ र खरिद गर्दा JRE Point  मा अंक जम्मा हुन सक्नेछ। तर QR कोडमार्फत पुरानो वेबसाइटमा जानु अत्यन्त जोखिमपूर्ण हुन सक्छ।

साथै, कम्पनीले जनाएको छ कि जुलाई १ देखि उक्त ठगी वेबसाइट पहुँचमा छैन तर QRकोड स्क्यानबाट अझै समस्या आउन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

यो घटनाले देखाएको छ कि पुराना डिजिटल सामग्री वा त्तच् कोडहरू पनि ठगीको माध्यम बन्न सक्छन्, त्यसैले समय–समयमा यस्ता कार्ड वा लिंकहरूको सुरक्षा स्थिति जाँच गर्नु आवश्यक हुन्छ।

.