फुकुओका नेपाल सोसाइटीमा दिपक विकको नयाँ नेतृत्व

२२ असार २०८२, आइतवार राम्रो पोष्ट
राम्रो पोष्ट
२२ असार २०८२, आइतवार

फुकुओका। जुझारु युवा समाजसेवी दिपक विकको अध्यक्षतामा फुकुओका नेपाल सोसाइटीको नयाँ कार्यसमिति गठन भएको छ ।

जुलाई ५ तारिख शनिबार, हाकाता स्टेशन नजिकको हलमा सम्पन्न २८ औं अधिवेशनबाट दिपक विक निर्विरोध अध्यक्ष चयन भएका हुन्।

उहाँ २७औं कार्यकालमा उपाध्यक्ष रहनुभएको थियो । संस्थामा लामो समयदेखि क्रियाशील बि.क.लाई सहभागीहरूले सर्वसम्मत नेतृत्व सुम्पिएका हुन्।

उनको नेतृत्वमा अशोक सेडाई वरिष्ठ उपाध्यक्ष, उज्ज्वल बानियाँ, रोबन थापा मगर र भुवन कृष्ण घिमीरे उपाध्यक्षमा चयन भएको निर्वाचन समितिको संयोजक पुरुषोत्तम सिग्देलले जानकारी दिनुभयो। उहाँका अनुसार सचिवमा बिसाल जिम्बा, कोषाध्यक्षमा बिकास सुनार र सहकोषाध्यक्षमा सन्देश राई चयन भएका छन्। कार्यसमितिमा २१ जना सदस्य चयन भएका छन्।

संस्थापक अध्यक्ष अरुण विस्टले प्रमुख अतिथि रूपमा बोल्दै संस्थाको निरन्तर प्रगति देख्दा गौरव महसुस भएको बताउनुभयो।

कार्यक्रममा एनआरएनए आइसीसी युवा संयोजक सुपेन्द्र घिसिङ, लोक तथा दोहोरी गायक विष्णु खत्री, क्युस्युस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा सचिव उज्ज्वल बानियाँले दुई वर्षे प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो। आर्थिक प्रतिवेदन कोषाध्यक्ष भुवन कृष्ण घिमीरेले प्रस्तुत गर्नुभयो।

उहाँका अनुसार संस्थाले दुई वर्षमा करिब ३१ लाख येन आम्दानी र ३० लाख येन खर्च गरेको छ।

नवनिर्वाचित अध्यक्ष दिपक बि.क.ले सबैप्रति धन्यवाद दिँदै फुकुओकामा रहेका नेपालीहरूको हित, एकता र सहयोगमा आधारित कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।

.