‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथाको चुचुरोमा पुगिन संगीता



बझाङ । धुलीकी सङ्गीता रोकाया सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी छन् ।
२६ वर्षीया रोकाया ले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् ।
साइपाल गाउँपालिका-४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन् ।
यही जेठ २ गते राति क्याम्प-४ बाट शिखरतर्फ प्रस्थान गरेकी रोकायाले जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् । उनलाई सगरमाथाको चुचुरोमा पुग्न करिब २५ लाख रूपैयाँ खर्च लागेको बताइन् ।
शिक्षा र चेतनाका हिसाबले पछाडि परेको साइपालमा छोरीलाई हिमाल चढ्न सहज थिएन । ‘साइपाल चढ्न नसके पनि सगरमाथा चढेर देखाउँछु भन्दा परिवारले समेत साथ दिएन’, उनी भन्छिन्, ‘सबैलाई मनाउन धेरै मेहनत गर्नुपर्यो ।’ मध्यम आयस्रोत भएको परिवारकी सदस्य रोकायालाई सगरमाथा चढ्नभन्दा बढी दुःख खर्च जुटाउनमा लाग्यो ।
वर्षौदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा रसाए । ‘खै किन हो, चुचुरोमा पुग्नेबित्तिकै भक्कानो फुटेर आयो, धेरैबेरसम्म आँसु थाम्न सकिनँ’, उनले भनिन् ‘छाउपडी प्रथा अन्त्य गरौँ’, भन्ने सन्देश लेखेको ब्यानरसँगै शिखरमा तस्बिर खिच्दा खुसीको सीमा नै नरहेको उनले सुनाइन् ।
रोकायाले विसं २०७५ कात्तिकमा पहिलोपटक अन्य चार जना बझाङी चेलीसँगै साइपाल हिमाल (सात हजार ३१ मिटर) आरोहणको प्रयास गरेकी थिइन् । टिममा स्पेन, इटाली, अमेरिकाका विख्यात आरोही पनि थिए । तर मौसम खराब र अप्ठेरो चट्टानका कारण उहाँहरू साइपाल चढ्न सक्नुभएन । साइपाल छुने प्रयास असफल भए पनि उनको हिमाल चढ्ने हुटहुटी भने बढ्दै गएको थियो ।