हेम्जोकोटको प्रिमियर शो, अभिनेता शोभितले भने- हास्न धेरै पाइने खालको फिल्म बनेको छ



काठमाडौं । नेपाली चलचित्र वेलकम टु हेम्जोकोटको प्रिमियर शो भएको छ । मंगलवार काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको हो । जेठ २६ देखि प्रदर्शनको तयारीमा रहेको सोसल–कमेडी फिल्म ‘वेलकम टु हेम्जाकोट’ मा बुद्धि तामाङ र विनोद न्यौपानेको शीर्ष भुमिका रहेको छ भने फिल्मले बेरोजगारीले निम्त्याउने समस्या र अन्तरजातीय प्रेमको कथावस्तु पेस गरेको छ ।
सरोज पौडेलको निर्देशित फिल्मले युवालाई आदर्शवान बन्न सिकाएको छ । फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, प्रेविल कँडेल, स्व।जयनन्द लामाको समेत अभिनय छ । प्रिमियर शोपछि बोल्दै अमिनेता शोभित बस्नेतले चलचित्र हास्य विधाको चलचित्र भएकाले राम्रो लागेको र हास्न धेरै पाइने खालको फिल्म बनेको बताएका छन् । उनले फिल्म हेरुन्जेलसम्म फिल्मको मज्जा लिएर चलचित्र हेर्न सकिने बताएका हुन् ।
त्यस्तै चलचित्र वेलकम टु हेम्जोकोटका अभिनेता विनोद न्यौपानेले नयाँ टिमले गरेको प्रयासबाट कलाकारहरु खुशी भएको र आगामी शुक्रवारबाट दर्शकले प्रतिक्रिया दिएपछि फिल्म राम्रो र नराम्रो भन्नेबारेमा विश्वस्त हुने बताएका छन् । उनले फिल्म हेरुन्जेल हासो नरोकिने बताए । क्लोजअप सिने प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो फिल्म तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की र सुमन खड्काले निर्माण गरेका हुन् ।