सुडानमा २४ घण्टे युद्धविराम गर्न युद्धरत दुवै पक्ष सहमत



काठमाडौं । सुडानका युद्धरत पक्षहरू शनिबारदेखि २४ घण्टे युद्धविराम गर्न सहमत भएका छन्। अमेरिका र साउदी मध्यस्थताकर्ताले जारी गरेको संयुक्त वक्तव्यमा सहमति भएको उल्लेख छ।
‘सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का प्रतिनिधिहरू जुन १० देखि स्थानीय समयानुसार बिहान ४ बजे २४ घण्टे देशव्यापी युद्धविराम गर्न सहमत भएका छन्,’ साउदी विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सुडानमा धेरैपटक युद्धविरामका लागि सहमति हुँदै भङ्ग हुँदै गएको छ। वासिङ्टनले दुई युद्धरत जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ भने दुवै पक्षलाई ‘भयानक’ रक्तपातको लागि दोषी ठहर्याएको छ।
गत अप्रिलदेखि नियमित सेना र अर्धसैनिक बल आरएसएफबीच खार्तूम र डार्फरको पश्चिमी क्षेत्रमा युद्ध भएको थियो। सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार एक हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र संयुक्त राष्ट्रसङ्घका अनुसार करिब २० लाख मानिस विस्थापित भएका छन् । जसमध्ये चार लाख ७६ हजार छिमेकी मुलुकमा शरण लिएका छन्।