November 2, 2026

भर्खरै

अमेरिकी मध्यावधि निर्वाचनको मुखैमा राजनीतिक हलचल, आफ्नै पार्टीकी नेतृले रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेपछि डेमोक्र्याटभित्र खैलाबैला!

राम्रो पोष्ट १६ कार्तिक २०८३, सोमवार
अमेरिकी मध्यावधि निर्वाचनको मुखैमा राजनीतिक हलचल, आफ्नै पार्टीकी नेतृले रिपब्लिकन उम्मेदवारलाई समर्थन गरेपछि डेमोक्र्याटभित्र खैलाबैला!

वासिङ्टन/एन्कोरेज: अमेरिकामा मंगलबार हुने मध्यावधि निर्वाचनको दुई दिनअघि राजनीतिक माहोल थप तातेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मिशिगनमा अप्रत्याशित समर्थन पाएको छ भने अलास्कामा भने कानुनी मोर्चामा धक्का बेहोरेको छ।

मिशिगनमा डेमोक्र्याटिक पार्टीकी प्रभावशाली नेतृ तथा अमेरिकी प्रतिनिधिसभा सदस्य हेली स्टिभन्सले आफ्नै पार्टीका उम्मेदवार अब्दुल एल–सयदलाई समर्थन नगरी रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई समर्थन गरेपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।

स्टिभन्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा आफू एल–सयदको चुनावी अभियानमा सहभागी हुन नसक्ने बताएकी छन्। उनीहरूबीच पार्टीभित्रै विवाद चर्किएको बताइएको छ। स्टिभन्सले एल–सयदको अभियानसँग जोडिएको एउटा विज्ञापनप्रति आपत्ति जनाउँदै घृणाविरुद्ध उभिनुपर्ने बताएकी छन्।

यता, अलास्कामा ट्रम्प प्रशासनलाई अदालतबाट ठूलो झट्का लागेको छ। रिपब्लिकन सिनेटर ड्यान सलिभन झिनो मतान्तरले पराजित भएमा निर्वाचन परिणाम प्रमाणीकरण रोक्न माग गर्दै अमेरिकी न्याय मन्त्रालयले दायर गरेको मुद्दा संघीय न्यायाधीशले खारेज गरिदिएका छन्।

एउटै नामसँग मिल्दोजुल्दो नाम भएका अर्का उम्मेदवार ड्यानियल जे. सलिभन जुनियरका कारण मतदाता झुक्किन सक्ने भन्दै प्रशासनले कानुनी चुनौती दिएको थियो।

यसपटक अमेरिकी सिनेटका ३५ सिट र प्रतिनिधिसभाका सबै ४३५ सिटका लागि निर्वाचन हुँदैछ। हाल दुवै सदनमा रिपब्लिकनको झिनो बहुमत छ। सर्वेक्षणहरूले प्रतिनिधिसभामा डेमोक्र्याटले बहुमत ल्याउन सक्ने देखाएका छन् भने सिनेटमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

डेमोक्र्याटले कुनै एक सदनमा बहुमत ल्याए पनि ट्रम्प प्रशासनका आगामी दुई वर्षका नीतिगत योजनामा अवरोध सिर्जना गर्न सक्नेछ। निर्वाचनअघि नै ५ करोड २० लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेको फ्लोरिडा विश्वविद्यालयको निर्वाचन प्रयोगशालाले जनाएको छ।

यसैबीच, ट्रम्पले रिपब्लिकन उम्मेदवारको पक्षमा माहोल बनाउन आइतबार आयोवा र कन्सासमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यी दुवै राज्यमा रिपब्लिकनले आफ्नो सिनेट सिट जोगाउन संघर्ष गरिरहेका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट